file photo

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउँदाे चुनाव सामान्य चुनावमात्र नभएर देशको भविष्य बनाउने अवसर भएको बताउनुभएको छ । झापाको धुलाबारीमा आज बुधवार अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले निर्वाचन आयोगले निष्पक्ष ढङ्गले चुनाव गर्नेमा आफू आशावादी भएको बताउनुभयो ।
झुटो आश्वासन दिने र आचारसंहिताको पालना नगर्ने काम निर्वाचन आयोगले रोक्नुपर्ने उहाँको भनाइ थियो । साथै उहाँले प्रहरी प्रशासनलाई गैरकानुनी क्रियाकलाप रोक्न पनि आग्रह गर्नुभयो । अध्यक्ष ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई कानुनको पूर्णपालना र आचारसंहिताको ख्याल गर्नका लागि अनुरोध गर्नुभयो । निष्पक्ष, शान्तिपूर्ण र भयरहित चुनावका लागि सबैको भूमिका महत्त्वपूर्ण हुने उहाँको भनाइ थियो । हिजाे मङ्गलवार झापा आउनुभएका ओली आज बिहान १० बजेपछि नियमित कार्यक्रम तथा भेटघाटमा सहभागी हुनुभएको छ ।