काठमाडौं– नवनियुक्त चार जना मन्त्रीद्वारा आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ । राष्ट्रपति भवन शितल निवासमा आज आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ८० बमोजिम नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, सहरी विकास मन्त्री प्रभु साह, र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशङ्कर चौधरीले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । शपथ ग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुहुन्थ्यो ।