मकवानपुर – मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले आईतबार रैथाने बाली कोदो र फापरको परिकारको प्रदर्शनी आयोजना गरेको छ । गत विहीबारबाट गाउँपालिकामा आयोजित तीन दिने तालिम पश्चात तयार पारिएको परिकारहरुको आईतबार प्रदर्शनी गरिएको हो ।
आईतबार गाउँपालिकाकाका अध्यक्ष विदुर हुमागाईले कोदोबाट बनेको केक काटेर प्रदर्शनीको उदघाटन गर्नुभएको थियो । प्रदर्शनी उदघाटन गर्नुहुँदै अध्यक्ष हुमागाईले गाउँमा उत्पादन हुने खाद्यान्नको संरक्षण र प्रबद्र्धनका लागि यस्ता खाले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । स्वास्थयका दृष्टिकोणले पनि रैथाने बालीको निकै महत्व रहेको हुँदा किशानलाई त्यस तर्फ आकर्षित गर्ने योजना रहेको उहाँको भनाई थियो । उहाँले कृषि र पर्यटनको क्षेत्रबाट समृद्धि हुने हुँदा गाउँपालिकाले त्यस्ता कार्यक्रमलाई प्रभावकारी बनाउने र कृषि र पर्यटनको विकासमा काम गरेको बताउनुभयो ।
गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा तालिममा कोदो र फापरको हलुवा, निमकिन, बिस्कुट, कप केक, बटर केक, प्यान केक, कुकिज, पिजा, पाउरोटी, दुनोट, मःम जस्ता २१ थरिका परिकार बनाउन सिकाईएको थियो । नेपाल कृषि अनुसन्धान परिषदका खाद्य प्राविधिक प्रविण ओझाले सहजिकरण गर्नुभएको तालिममा गाउँपालिकाका सवै वडाका होटोल, होमस्टे, खाजा घरका संचालक र कृषि प्राविधिकहरुको सहभागीता रहेको थियो ।
गाउँपालिकाका कृषि शाखाका प्रमुख चन्द्रकान्त चौधरीले गाउँपालिकाका करिब तीन सय हेक्टर जमिनमा कोदो उत्पादन हुने गरेको हुँदा त्यस्ता रैथाने बालीको संरक्षणमा लागेको बताउनुभयो । विशेष गरी वडा नम्बर ४ कोदोको लागि पकेट क्षेत्र रहेको उहाँले बताउनुभयो । वडा नम्बर ४ मा रहेको अपाङग तथा विपन्न कृषि सहकारी संस्थाले खलमा पिसेको कोदोको पिठो र कोदो पनि विक्री गर्दै आएको उहाँले बताउनुभयो ।
प्रदर्शनी कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष रामप्रसाद तिमल्सिना, वडा नम्बर ६ का वडा अध्यक्ष टिका प्रसाद दहाल, प्रमुख प्रशासकीय अधिकृत रामुकमार पुडासैनीलगायतको उपस्थित थियो ।