मकवानपुर – सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) ले अमेरिकी सहयोग नियोग (एमसीसी) सम्झौताविरुद्ध हेटौंडामा विरोध प्रदर्शन गरेको छ । आज आइतवार पार्टीको भातृ सङ्गठनहरुले एमसीसी संसदबाट पास गराउन नहुने भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

हेटौंडाको शितलमहलचोकबाट सुरु भएको प्रदर्शन बुद्दचोक हुँदै सिमाचोकमा पुगेर सभामा परिणत भएको थियो । उनीहरूले एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, एमसीसी खारेज गरौँ, ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप चाहिँदैन लगायतका प्लेकार्ड सहितको नारा लगाएका थिए । पार्टीको जनवर्गीय संगठनहरुले आज हेशैभरी एमसीसी बिरुद्ध विरोध कार्यक्रम आयोजना गरेको छ ।

प्रदर्शनका क्रममा पार्टीसँग आबद्ध भातृ सङ्गठनका नेताहरूले संसदबाट एमसीसी पास भएमा अझै सशक्त रूपमा आन्दोलन चर्काउने चेतावनीसमेत दिएका छन् । विरोध प्रदर्शन पछि आयोजित कोणसभामा समाजवादीका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज ललित बस्नेत, पार्टी केन्द्रीय सदस्य मुनु सिग्देल, मकवानपुर अध्यक्ष श्रीधर पाख्रेल, सचिव विष्णुप्रसाद दाहाललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।