नेपालमा कोरोना भाइरसको सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बिहीबार (हिजो) २२ गते मृत्यु भएका सुर्खेतका २८ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएपछि मृतकको सङ्ख्या ११ पुगेको जानकारी दिनुभयो ।
प्रवक्ता डा.देवकोटाले दिनुभएको जानकारी अनुसार मृतक पुरुष यही जेठ ८ गते भारतबाट फर्किएर १४ दिनसम्म स्थानीय क्वारेन्टाईनमा बसेका थिए । क्वारेन्टाईनमा रहँदासम्म सङ्क्रमणको कुनै लक्षण नदेखिएको र आरडिटि परीक्षणमा समेत सङ्क्रमण नदेखिएपछि घर पठाएकोमा सोही दिन मृत्यु भएपछि पिसिआर परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा.देवकोटाले जानकारी दिनुभयो ।
यसै गरी आज थप दुई सय ७८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई हजार नौ सय १२ पुगेको छ । नेपालमा हालसम्म ६८ जिल्लाका दुई हजार सात सय १७ जना पुरुष र एक सय ९५ जना महिलामा कोरोना भाईरस सङ्क्रमणको पुष्टि भएको छ । यसै गरी आज थप ४३ जना उपचारपछि निको भई डिस्चार्ज भएसँगै हालसम्म जम्मा तीन सय ३३ जना उपचारपछि निको भई घर फर्किएको मन्त्रालयले जनाएको छ ।