मकवानपुर — बागमती प्रदेशका ११ वटा जिल्लामा खेलकुद विकास समिति अध्यक्ष नियुक्त गरिएको छ । प्रदेश खेलकुद विकास परिषद्ले सत्ता गठबन्धनमा रहेका दलहरुलाई भागबन्डाको आधारमा काठमाडौं र भक्तपुरबाहेकका जिल्लामा अध्यक्ष नियुक्त गरेको हो । जसअनुसार माओवादी केन्द्रका ६, कांग्रेस ३ र नेकपा -एस_ बाट दुईजना नियुक्त भएका छन् ।
खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीका अनुसार मकवानपुरमा भेष खड्गी, चितवन उत्तम गुरुङ, धादिङ प्रतापसिं तामाङ, नुवाकोट बुद्धिमान तामाङ, रसुवा दावा तामाङ, ललितपुर विनोद महर्जन, काभ्रे मानबहादुर लामा, सिन्धुपाल्चोक सुदेश राना, दोलखा रामहरि शिवाकोटी, रामेछाप सरोज गागा मगर तथा सिन्धुलीमा वीरबहादुर थिङ नियुक्त भएका छन् । बाँकी दुई जिल्लामा छिट्टै नियुक्त गरिने भण्डारीले जानकारी दिए । उनीहरुको कार्यकाल दुई वर्षको हुनेछ । जिल्ला कार्यसमिति पाँच सदस्यीय हुने व्यवस्था छ ।