हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाले दरबन्दी नभएका विद्यालयलाई अनुदान सहयोग गरेको छ । दरबन्दी नभएपनि कक्षा संचालन गरिरहेका ६ वटा विद्यालयलाई गाउँपालिकाले १८ लाख ३० हजार रुपैयाँ अनुदान सहयोग गरेको हो ।
शिक्षा क्षेत्रको विकास र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ ३ नम्बर प्रदेश सरकारबाट प्राप्त अनुदान रकम विद्यालयलाई वितरण गरिएको हो । गाउँपालिकामा दरबन्दी नभएर तथा कुनै पनि राहत कोटा समेत नपाईकन मावि र निमावि संचालन गर्ने विद्यालयलाई एक÷एक जना शिक्षक नियुक्त गर्ने गरी शिक्षण सिकाई अनुदान प्रदान गरिएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभएको छ । गाउँपालिकामा संचालित विद्यालय मध्ये माध्यमिक वा आधारभूत तहमा कुनै पनि दरबन्दी प्राप्त नगरेका, राहत अनुदान नपाएका, दरबन्दी वा राहत अनुदान भएतापनि विद्यार्थी संख्या र कक्षा अनुपातमा कम दरबन्दी भएका विद्यालयलाई प्रदेश सरकारद्वारा प्राप्त भएको अनुदान उपलब्ध गराईएको उहाँले बताउनुभयो ।
अनुदान पाउने विद्यालयहरुले विज्ञान, गणित र अंग्रेजी विषय मध्ये अति आवश्यक कुनै एक विषयमा शिक्षा नियमावली २०५९ को नियम (क) र ९७ अनुसार शिक्षक नियुक्त गरेर रकम खर्च गर्न सक्ने उहाँले जानकारी दिनुभयो । गाउँपालिकाका ३२ वटा सामुदायिक विद्यालय मध्ये मनहरी–२, भुन्द्रङटाँडीस्थित सीता मावि र मनहरी–४ स्थित पशुपति माविलाई माध्यमिक शिक्षक नियुक्त गर्नका लागि ३ लाख ६६ हजारका दरले अनुदान उपलब्ध गराईएको छ । मनहरी–६, रुपाचुलीस्थित सगरमाथा आधारभूत (६–८) विद्यालय, मनहरी–१, गोगनपानीस्थित जनज्योति आधारभूत (६–८) विद्यालय, मनहरी–७ स्थित ब्रह्मकाली आधारभूत (६–८) विद्यालय, मनहरी–९, रजैयास्थित युवावर्ष गंगा आधारभूत विद्यालयलाई २ लाख ६७ हजारका दरले अनुदान सहयोग प्रदान गरिएको उहाँले बताउनुभयो ।
माध्यमिक विद्यालयलाई एकजना शिक्षकलाई प्रतिमहिना ३० हजार ५ सयका दरले र अन्यलाई २३ हजार ५ सयका दरले हुने एक वर्षको रकम उपलब्ध गराईएको उहाँले बताउनुभएको छ । प्रदेश सरकारको कार्यविधिसहित प्राप्त रकम सोही अनुसार उपलब्ध गराईएको उहाँको भनाई छ । उक्त रकमले विद्यालयमा शिक्षक नियुक्त गर्न तथा शिक्षा क्षेत्रमा सहयोग पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।