अढाई घण्टादेखि जारी नेकपा एमालेको सचिवालय बैठकमा विधान संशोधनको प्रस्तावबारे छलफल भइरहेको छ । अध्यक्ष केपी शर्मा ओली पक्षले पदाधिकारी र केन्द्रीय सदस्य थप्ने गरी विधान संशोधनको कुरा राखेपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले आपत्ति जनाएको छ ।
बैठकमा सहभागी एक पदाधिकारीका अनुसार अहिले नेताहरूले आफ्नो धारणा राखिरहेका छन् । यस्तै शनिबारबाट सुरु हुने एघारौँ महाधिवेशनमा प्रतिनिधिको व्यवस्थापन तयारी लगायत विषयमा पनि छलफल भइरहेको छ ।
‘विधानमा हेरफेरबारे कुरा राखिएको छ, यसबारे छलफल भइरहेको छ, केही निर्णय भएको छैन’, बैठकमा सहभागी ती पदाधिकारीले खबरहबलाई भने, ‘दशौँ महाधिवेशनको जस्तै १९ पदाधिकारी कायम गरौँ भन्ने प्रस्ताव अगाडि बढेको छ । तर यसमा कुनै निर्णय भएको छैन। १० औँ महाधिवेशनकै संरचनामा जाऊँ भन्ने अध्यक्षको प्रस्तावमा नेताहरुले कुरा राख्नुभएको छ।’
अध्यक्ष ओलीनिकट एकजना नेताका अनुसार १९ जना पदाधिकारी कायम गरेर जाने प्रस्ताव आएको छ । गत भदौ २०-२२ गते भएको दोस्रो विधान महाधिवेशनबाट पारित विधानमा हेरफेर गर्दै दुई उपाध्यक्ष र दुई सचिव थप्ने प्रस्ताव अध्यक्ष ओलीले गरेका छन् ।
एघारौँ महाधिवेशन अगाडि शुक्रबार अन्तिमपटक बसेको सचिवालय बैठक अझै केही घण्टा लम्बिन सक्ने नेताहरूले बताएका छन् । ‘महत्वपूर्ण र मुख्य विषयमा सहमति जुटेको छैन, बैठक केही लम्बिन सक्छ’, सहभागी ती पदाधिकारीले भने, ‘थप निर्णयबारे प्रतिक्षा गर्नुपर्ने हुन्छ । रातिसम्म बैठक लम्बिन सक्छ ।’
एमाले सचिवालय बैठक जारी
विधानमा हेरफेर र पदाधिकारी बढाउने प्रस्तावमा नेताहरू धारणा राख्दै











