मकवानपुर । बागमती प्रदेश विश्वविद्यालयले आफ्नो शैक्षिक संरचना संचालनका लागि प्रदेशभित्रका ५ वटा सामुदायिक क्याम्पसहरुसँग समायोजन सम्झौता गरेको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौंडामा एक कार्यक्रमकामा प्रदेश विश्वविद्यालय र विभिन्न जिल्लाका ५ वटा सामुदायिक क्याम्पसबीच आंगिक क्याम्पसको रुपमा अगाडि बढाउने विषयमा सम्झौता भएको हो ।

प्रदेशको उच्च शिक्षालाई थप व्यवस्थित, गुणस्तरीय र पहुँचयोग्य बनाउने उद्देश्यका साथ विश्वविद्यालयले विभिन्न जिल्लामा सञ्चालित प्रतिष्ठित क्याम्पसहरुलाई आफ्नो आंगिक क्याम्पसको रुपमा अगाडि बढाउने निर्णय गरे अनुसार सम्झौता गरिएको जनाईएको छ । मुख्यमन्त्री बानियाँको प्रमुख आतिथ्यतामा आयोजित उक्त समारोहमा भुवानी शंकर बहुमुखी कलेज, जनमैत्री बहुमुखी कलेज, कपन बहुमुखी क्याम्पस, चैतन्य बहुमुखी क्याम्पस र माडी क्याम्पसका प्रमुखहरुबीच द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । सम्झौतासँगै उक्त क्याम्पसहरुमा बागमती प्रदेश विश्वविद्यालयको नीति नियम र पाठ्यक्रम अन्तर्गत सञ्चालन हुने प्रक्रिया अघि बढ्नेछ ।
कार्यक्रममा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले परम्परागत शिक्षा प्रणालीले बेरोजगार मात्र उत्पादन गरेको बताउनुभएको छ । उहाँले अबको शिक्षालाई प्रविधि र सीपसँग जोड्नुपर्ने बताउनुभयो । प्रदेश सरकारले अब ‘गरी खाने’ शिक्षा नीति लागु गर्न चाहेको उहाँले स्पष्ट पार्नुभयो । त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेका क्याम्पसहरु बागमती विश्वविद्यालयमा समायोजन हुँदा कतिपयमा संशय देखिएको भन्दै उहाँले आत्मीयता बढाउन आग्रह गर्नुभयो ।
मुख्यमन्त्री बानियाँले विद्यार्थीहरुले पढ्दै, सिक्दै र कमाउँदै गर्ने वातावरण सिर्जना गर्न पाठ्यक्रममै परिवर्तन आवश्यक रहेको औँल्याउनुहुँदै बागमती सरकार स्वास्थ्य, शिक्षा र कृषिलाई प्रविधिसँग जोडेर समग्र विकासको गतिमा अघि बढ्न चाहेको बताउनुभयो । बागमती विश्वविद्यालयले हाल ५ वटा कलेजलाई आंगिक कलेजका रुपमा अगाडि बढाएको र हेटौंडाको हकमा प्रक्रिया चलिरहेको जानकारी दिनु हुँदै विश्वविद्यालय नेतृत्वलाई अनुभवी र प्राविधिक पक्षलाई समेटेर अघि बढ्न निर्देशन समेत दिनुभयो ।