हेटौंडा, साउन–१३, । मकवानपुर जिल्ला खेलकुद विकास समितिका पदाधिकारीहरुलाई विदाई गरिएको छ । ४ वर्षे कार्यकाल पूरा गरेका अध्यक्षसहित ७ जना पदाधिकारीलाई सोमबार एकसाथ विदाई गरिएको हो ।
२०७२ साल साउन १२ गते नियुक्त हुनुभएका अध्यक्ष माधव तिमल्सिना, उपाध्यक्ष दिपेन्द्र ढकाल, सदस्यहरु आरती पाठक, ईश्वरप्रसाद मैनाली, सुनिल लोप्चन, धरमबहादुर लामा र प्रतिमा श्रेष्ठलाई आज एक कार्यक्रमका बीच विदाई गरिएको हो । मकवानपुर जिल्ला खेलकुद विकास समितिको कार्यालयमा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाले खादा ओढाएर कदरपत्रसहित मायाको चिनो प्रदान गरेर विदाई गरिएको हो । विदाई कार्यक्रममा अध्यक्ष माधव तिमल्सिनाले आफू नेतृत्वको कार्यकालमा सरोकारवालाको सल्लाह, सुझाव र सहभागितामा विवादरहित सबै कामकारवाही भएको उल्लेख गर्नुभयो । उहाँले आफ्नो कार्यकालमा निर्धारित सबै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको दावी गर्नुभयो । स्थानीय तहको संरचना स्थापित भएपछि खेलकुदका पूर्वाधार र गतिविधिमा उल्लेखनीय कार्य भएको उहाँको भनाइ थियो । विदाई कार्यक्रममा समितिका निवर्तमान अध्यक्ष बालकृष्ण चौलागाईको पनि उपस्थिति रहेको थियो ।