file photo

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८) संसारभरका महिलालाई समानताको हक अधिकार स्थापित गर्ने प्रेरणादायी दिन भएको वताउँदै महिला सशक्तीकरणको अभियानमा सबै एक भएर लाग्न आह्वान गर्नुभएको छ । आज अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना दिनुहुँदै अध्यक्ष ओलीले महिला दिदीबहिनीहरूलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी महिलाविरुद्ध हुने हिंसा अन्त्य गर्न लाग्नुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले सम्पूर्ण दिदीबहिनीहरूमा सुस्वास्थ्य, सुख र समृद्धि एवं सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको छ । नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणमा महिलाको सहभागिता र नेतृत्व विश्वकै लागि अनुशरणीय रहँदै आएको र ऐतिहासिक जनआन्दोलन लगायतका परिवर्तनका सबै आन्दोलनमा नेपाली महिलाले अग्रमोर्चामा रहेर नेतृत्व गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले देशको विकासका लागि जनसंख्याको आधाभन्दा बढी भाग ओगट्ने महिलाको समान सहभागिता अत्यन्त जरूरी रहेको वताउनुभएको छ ।
अध्यक्ष ओलीले विगतमा नेकपा (एमाले) को सरकारले महिला अधिकारको क्षेत्रमा लिएका नीति र गरेका कामको प्रतिफलस्वरुप नेपालको लैङ्गिक विकास सूचकाङ्कमा उल्लेख्य सुधार भएको स्मरण गर्नुभएको छ । नेकपा (एमाले) सुशासन, विकास र सामाजिक न्यायको अगुवा पार्टी भएको चर्चा गर्दै अध्यक्ष ओलीले सन्देशमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को गन्तव्यमा सामाजिक न्याय महत्वपूर्ण आयाम रहेको वताउनुभएको छ ।
अध्यक्ष ओलीले भन्नुभएको छ– राजनीतिक अस्थिरता मार्फत मुलुकलाई दिशाहीन बनाउने र राष्ट्रको समृद्धि र जनताको सुखका लागि अघि बढाइएको अभियान कमजोर बनाउने दुष्प्रयास अहिले पनि जारी छ । अस्थिरताको अनुचित लाभ लिएर राष्ट्रिय स्वाधीनता र देशको सामथ्र्यलाई कमजोर बनाउने, अर्थतन्त्रलाई धरासायी बनाउने, विकास निर्माण ठप्प पार्ने र सामथ्र्यहीन राज्यको अवसर छोपेर सामाजिक उत्पीडन र विकृतिहरू बढाउने प्रवृत्तिमाथि हामीले विजय प्राप्त गर्नु आवश्यकता छ । न्यायप्रेमी जनसमुदायको साथ लिएर हामी यसलाई अझै अगाडि बढाउन चाहन्छौं । नेकपा (एमाले)को यस अभियानलाई सफल बनाउन रचनात्मक ढङ्गले सक्रिय हुन सम्पूर्ण तह र क्षेत्रका दिदीबहिनी तथा दाजुभाइमा म हार्दिक अपिल गर्दछु ।