फाइल तस्विर

उपत्यका मेयर फोरमले चाड पर्व (तिहार र छठ( पछि कडा निषेधाज्ञा जारी गर्न कोभिड—१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई आग्रह गरेको छ । बुधबार सीसीएमसीका पदाधिकारीहरुसँगको बैठकमा मेयर फोरमका पदाधिकारीहरुले यस्तो आग्रह गरेका हुन् । काठमाण्डौ उपत्यकामा बढ्दो सङ्क्रमणको दर र यसलाई नियन्त्रणका लागि कडा निषेधाज्ञाको आवश्यकता रहेको मेयर फोरमका सचिव मदनसुन्दर श्रेष्ठले बताउनुभयो ।
उपत्यकामा बढिरहेको सङ्क्रमण दर नियन्त्रणका लागि तिहार, छठ लगत्तै निषेधाज्ञा जारी गर्ने भन्ने विषयमा गम्भीर छलफल भएको उहाँले बताउनुभयो । उपत्यकामा बढिरहेको सङ्क्रमणलाई नियन्त्रण गर्न कडा निषेधाज्ञा आवश्यकता भएको उल्लेख गर्दै उहाँले सीसीएमसीका पदाधिकारीले अर्को बैठकमा कस्तो मोडालिटीमा जाने भन्ने छलफल गरी प्रस्ताव गर्ने बताउनुभयो ।
सीसीएमसीका पदाधिकारीहरुसँगको छलफलमा कोभिडबाट उत्पन्न समस्या समाधानका विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो । महामारी नियन्त्रणका लागि पालिका र सङ्घीय सरकारबीच समन्वय हुन नसक्दा समस्या झन् बल्झिने खतरा रहेकाले नियन्त्रणका लागि एकीकृत रुपमा पहल गरेर अगाडि बढ्ने विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो ।