निशा गुरुङ/हेटौंडा
कोरोना माहामारीका कारण गत चैत महिनादेखि सामुदायिक र संस्थागत विद्यालयहरु वन्द छन् । शिक्षकहरुले तलब माग गरिरहेको अवस्था छ भने अर्कोतिर विद्यार्थीहरुवाट शुल्क लिने काम भइरहेको छ । अनलाईन पढाई प्रभावकारी हुन नसकेको गुनासो रहीरहेको अवस्थामा मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले संस्थागत विद्यालयहरुलाई शुल्कको अवस्थाका वारेमा परिपत्र गरेको छ । सोको लागि अनलाइन सर्वे थालेको उपमहानगरपालिकाले प्राप्त सुझावअनुसार शुल्क निर्धारण गर्ने जानकारी दिएको छ ।
गत वैशाखदेखि भदौसम्मको ५ महिनाको अवधिमा अनलाइन कक्षा भए नभएको सोधिएको छ भने कति शुल्क तिर्न उपयुक्त हुन्छ भनेर प्रश्न गरिएको छ । यस्तै असोजदेखि पछाडी अघिल्ला वर्षको जति नै शुल्क लिन उपयुक्त हुन्छ कि हुँदैन भनेर समेत प्रश्न राखिएको छ । शुल्क उठाउन पाउनुपर्ने माग गरिरहेका निजी विद्यालयहरु र तलब पाउनुपर्ने भन्दै आन्दोलनरत शिक्षकको मागलाई सम्बोधन गर्न उपमहानगरपालिकाले शुल्क निर्धारणमा जुटेको हो ।
अघिल्लो वर्ष समेत उपमहानगरपालिकाले विद्यालयहरुको वर्गीकरण गरेर शुल्क निर्धारण गरेको थियो । तर यो पटक भने कोभिड— १९ का कारण शुल्क निर्धारण हुन सकेको छैन । लकडाउनको अवधिमा पनि मकवानपुरका कतिपय विद्यालयले अनलाइ र अफलाइन कक्षा सञ्चालन गरेका थिए । विद्यार्थी सहभागिता र प्रभावकारीतामा प्रश्न उठिरहेता पनि विद्यालयले यस्तो कक्षाको शुल्क लिन पाउनुपर्ने माग गर्दै आएका छन् । यता अभिभावकले भने अनलाइन शिक्षा प्रभावकारी नभएको गुनासो गरिरहेका छन । अभिभावकहरुले जस्तो सुझाव दिएपनि शिक्षक तथा विद्यालय सञ्चालकको दवावको कारण कार्यन्वयन हुनेमा भने शंका गरिएको छ ।
शिक्षकहरुले पुरै तलब पाउनुपर्ने भन्दै आन्दोलन पनि गरेको हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामाले बताउनुभयो । उपमेयर लामाका अनुसार सर्भेको नतिजा र अभिभावक, शिक्षक, संस्थागत विद्यालय संचालक सबैसंगको सल्लाहमा शुल्क निर्धारण गरिने छ । “शिक्षकहरुले तलब मागिरहेका छन्, विद्यालयहरु शुल्क उठाउन खोज्दै छन् । अभिभावकहरु दिन मान्दैनन र सक्ने अवस्थामा पनि छैन् ।” उहाँले भन्न्ुभयो । सर्भेको नतिजाले पनि शुल्क निर्धारणमा सहयोग गर्न सक्ने उहाँको भनाई छ ।
उहाँले शुल्क निर्धारण गरे पनि प्रत्यक्ष कक्षा सञ्चालन गर्ने सम्भावना भने कम रहेको बताउनुभयो । अनलाइन, अफलाइन कक्षाको बहानामा सहरी क्षेत्रका विद्यालयहरुको शुल्क उठाए पनि ग्रामिण क्षेत्रका विद्यालयहरुको भने शुल्क लिन अलि समस्या हुने देखिएको छ । मकवानपुरका इन्टरनेटको पहुँच नभएका ठाँउका संस्थागत विद्यालयहरुले भौतिक दुरी कायम गर्दै पठन पाठन सञ्चालन गरेका छन् । संस्थागत विद्यालयले बुझाएको प्रतिवेदनमा कक्षा सञ्चालन गर्न पाउनुपर्ने माग गरिएको समेत लामाले बताउनुभयो । कतिपय विद्यालयले भने अनलाइन कक्षा सञ्चालन गर्ने कोशिस गरे पनि आधा विद्यार्थीले पनि पढ्न पाएका थिएन । कति विद्यालयहरुले प्रभावकारी नभएको भन्दै अनलाइन कक्षा नै बन्द गरेका छन् । पढाई नभए पनि उनिहरुले शुल्कको माग भने गरेका छन तर, अभिभावकले भने शुल्क दिन मानेका छैनन् ।
हेटौंडा उपमहानगरपालिकाको नगर शिक्षा समितिको निर्णयानुसार शैक्षिक शत्र ०७७ मा कक्षा १ देखि १० सम्मको लागि शुल्क निर्धारण गरिसकेका छन् । क वर्गका कक्षा १ का विद्यार्थीको १९ सय ५० शुल्क, कक्षा २ को २ हजार २५, कक्षा ३ को २१ सय, कक्षा ४ को २१ सय ७५, कक्षा ५ को २२ सय ५०, कक्षा ६ को २४ सय, कक्षा ७ को २४ सय ७५, कक्षा ८ को २५ सय ५०, कक्षा ९ को २ हजार ७ सय, कक्षा १० को २७ सय ७५ शुल्क रहेको छ ।
ख वर्गको विद्यालयको शुल्क कक्षा १ को १६ सय २५, कक्षा २ को १६ सय ८ सय ७५, कक्षा ३ को १७ सय ५०, कक्षा ४ को १८ सय १२, कक्षा ५ को १८ सय ७५, कक्षा ६ को २ हजार, कक्षा ७ को २ हजार ६२, कक्षा ८ को २१ सय २५, कक्षा ९ को २२ सय ५०, कक्षा १० को २३ सय १२ शुल्क निर्धारण गरिएको छ ।
ग वर्गको विद्यालयका कक्षा १ को शुल्क १३ सय, कक्षा २ को १३ सय ५०, कक्षा ३ को १४ सय, कक्षा ४ को १४ सय ५०, कक्षा ५ को १५ सय, कक्षा ६ को १६ सय, कक्षा ७ को १६ सय ५०, कक्षा ८ को १७ सय, कक्षा ९ को १८ सय, कक्षा १० को १८ सय ५० रहेको छ ।