हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला समिति मकवानपुरले विभिन्न समयमा पार्टी छाडेर गएकाहरुलाई आफ्नै मुल घरमा फर्कन अपिल गरेको छ । एमाले मकवानपुरका उपाध्यक्ष हिदम लामाद्वारा हस्ताक्षरित अपिलमा एकीकृत समाजवादीमा आवद्ध लगाएत विभिन्न समयमा पार्टी छाडेर गएका सबै कार्यकर्ताहरूलाई पुनः आफ्नो पुरानो घर नेकपा (एमाले) मा फर्कन आग्रह गर्नुभएको छ ।

उपाध्यक्ष लामाले पार्टीमा एकता र सुदृढ संगठन निर्माणका लागि पुरानै घरमा फर्किन अपिल गर्नुभएको छ । उहाँले नेकपा (एमाले) नै राष्ट्रिय स्वाधीनता, विकास र समृद्धिको अग्रदूत पार्टी भएको साथै पार्टीले देशको स्वतन्त्रता र समाजवादको दिशामा नेतृत्व दिँदै आएको उल्लेख गर्दै, हाल देशभित्र देखिएको अस्थिरता र भ्रमपूर्ण परिस्थितिमा एमाले नै स्थायित्व र प्रगतिको विकल्प हुन सक्ने विश्वास व्यक्त गर्नुभएको छ ।

अपिलमा भनिएको छ, “जेठ २३–२४ को राजनीतिक आन्दोलनपछि पनि पार्टी कार्यालयहरूलाई आक्रमणको लक्ष्य बनाइनु, एमालेको स्थायित्व र राष्ट्रिय स्वाभिमानमाथि प्रहार हो ।” उपाध्यक्ष लामाले विदेशी स्वार्थ समूहहरूले नेपालको स्वाधीनता कमजोर पार्ने प्रयास गरिरहेका बेला सबै देशभक्त र क्रान्तिकारी शक्तिहरू एमालेको झण्डा मुनि एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनु भएको छन् । उहाँले राजनीतिक निरन्तरता, कार्यदक्षता र संगठनात्मक सबलीकरणका लागि पुरानो घर नेकपा (एमाले) मै फर्कनु आजको आवश्यकता भएको भन्दै पार्टीका तर्फबाट जिल्लाका सबै कमरेडहरूलाई एकता, अनुशासन र समाजवादी आन्दोलनको बलियो आधार निर्माण गर्न अपिल गर्नु भएको छ ।