मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरको भीमफेदी गाउँपालिकाको नवनिर्मित प्रशासकिय भवनको उद्घाटन गर्नुभएको छ । कुल ४२ कोठाको साढे ३ तल्ले भवनको सोमबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभएको हो ।

भवन उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले भीमफेदी गाउँपालिकालाई वल्ड सिटी (पुरानो शहर) को रुपमा विकास गरिने बताउनुभयो । उहाँले भीमफेदीको इतिहास, पुरातात्विक महत्वलाई बचाउन पुरानो सहरको रुपमा विकास गर्ने बताउनुभएको हो । उहाँले भीमफेदी गाउँपालिकामा सक्षम नेतृत्वलाई जिताएकै कारण विकास भएको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले ८ गाउँपालिका मध्ये आफ्नै व्यवस्थित भवन निर्माण सम्पन्न गर्ने पहिलो गाउँपालिकाको रुपमा भीमफेदी रहेको भन्दै भवन अनुसारको सेवा प्रवाह चुस्त हुनुपर्ने बताउनुभयो । उहाँले जिल्ला समन्वय समितिले स्थानीय तहको उन्नति, प्रगति र प्रभावकारी सेवा प्रवाहलाई आफ्नो उपलब्धीका रुपमा लिएको भन्दै भीमफेदी गाउँपालिकाले जिल्ला समन्वय समितिबाट प्राप्त बजेटको उचित उपयोग गरेकोमा धन्यवाद व्यवक्त गर्नुभयो । उहाँले स्थानिय तहहरुलाई अधिकार सम्पन्न र विकासमा अगाडी राख्न जिल्ला समन्वय समतिले हरेक क्षेत्रमा समन्वय र सहकार्य गर्दै आएको समेत बताउनुभयो ।

भवन निर्माणका लागि जिल्ला समन्वय समितिबाट ८ कठ्ठा ८ रापनी जग्गा र २ कोरोड रुपैया, संघिय सरकारबाट एक करोड ४० लाख र बाँकी ७२ लाख ८२ हजार रुपैया गाउँपालिकाको लगानी रहेको गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिनुभयो । लागत अनुमान ७ करोड १ लाख ४३ हजार भएपनि सार्वजनिक खरिद ऐन बमोजिक ठेक्का लगाउँदा ४ करोड १२ लाख ८२ हजार ७० रुपैयाँ २ पैसामा २०७६ साल साउन १४ गते गाउँपालिकाले आर.एण्ड सि. जेभी काठमाण्डौसंग सम्झौता गरेर करीब २ वर्षमा सुविधा सम्पन्न भवन निर्माण भएको हो । कुल ४२ कोठाको नवनिर्मित भवन १७ मिटर चौडाई र ३५ मिटरको लम्बाइमा बनेको छ ।

उद्घाटन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले पालिकाको विकासमा सहयोग गर्ने सम्पुर्णमा धन्यवाद ब्यक्त गर्नुभयो । पालिकामा आजसम्म भएको काममा जनतालाई निराश बनाउने कुनैपनि कार्य नगरेको उहाँको भनाई थियो । भवनको पर्खाल, भवन भित्रको केही निर्माण कार्य गर्न बाँकी रहेको र त्यो छिट्टै सम्पन्न हुने प्रमुख प्रशासकिय अधिकृत जीवन कुँवले बताउनुभयो । कार्यक्रममा पुर्व जिविस सभापति रामेश्वर रानालगायत विभिन्न राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधि, पालिकाका कर्मचारीलगायतको सहभागिता थियो ।