संघीय संसद्का दुवै सदनको आजका लागि तय भएको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले उठेर बिरोध जनाएपछि स्थगित भएको राष्ट्रियसभाको बैठक जेठ ६ गते आइतबार दिउँसो सवा १ बजे बस्ने गरी बोलाइएको छ ।

यस्तै, प्रतिनिधिसभाको बैठक पनि आज बस्न सकेन । बिहान ११ः०० बजे बस्ने गरी बैठक बोलाइए पनि सूचना टाँस गरी दिउँसो २ः०० बजेका लागि बैठक तय भएको थियो । दिउँसो २ः०० बजे सारिएको बैठक पनि विशेष कारणले बस्न नसकेको भन्दै आजको बैठक स्थगन गरिएको संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक जेठ ६ गते आइतबार बिहान ११ः०० बजे बोलाइएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सहकारीको रकम हिनामिना भएको विषयलाई लिएर संसदीय छानबिन समिति गठनको माग राखी सदन अवरोध गर्दै आएको छ ।

सहकारी प्रकरणमा संसदीय छानविन समिति बनाउने विषयमा सरकार सकारात्मक देखिए पनि समितिले छानविन गर्ने विषय र छानबिनको दायरालाई लिएर दलहरुबीच कुरा मिल्न नसकेको नेताहरूको भनाई छ ।

प्रतिनिधिसभाको बैठक ६ गते आइतबारसम्म स्थगित भएपछि संसद् भवन बाहिर पत्रकारहरूसँग कुराकानी गर्दै नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सदन सुचारुका लागि केही समझदारी बन्ने कुरामा आफूहरू आशावादी रहेको बताउनुभयो ।

सदन सुचारु गर्ने विषयमा प्रधानमन्त्री प्रचण्डले सत्तारुढ दलका शीर्ष नेताहरू र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेताहरूसँग निरन्तर छलफल गरिरहनुभएको छ । प्रधानमन्त्री प्रचण्डले आज साँझ अन्य दलका नेताहरूसँग पनि छलफल गर्ने कार्यक्रम तय भएको छ ।