काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट पुग्नुभएको छ । अमेरिकी सहयोग एमसीसी सम्झौता संसदबाट पारित गर्ने विषयमा दलहरूबीच विवाद भइरहेका बेला प्रधानमन्त्री देउवा सहमति जुटाउनका लागि प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष ओलीलाई भेट्न बाल्कोट पुग्नुभएको हो ।
प्रचण्ड र नेपालसँगको छलफल सकिएपछि देउवा छलफलका लागि प्रतिपक्षी दलका नेता ओलीसँग छलफल गर्न बालकोट पुग्नु भएको हो । बालकोट भेटमा एमाले अध्यक्ष ओलीसँगै महासचिव शंकर पोखरेल र नेता प्रदीप ज्ञवाली सहभागी हुनुहुन्छ । यस्तै कांग्रेसबाट सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र गगन थापा पनि हुनुहुन्छ ।
प्रधानमन्त्री देउवा बालकोट जानुअघि बालुवाटारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि छलफल गर्नुभयो । एमालेले एमसीसीबारे नकारात्मक टिप्पणी गरेको छैन । तर एमसीसी छलफलका लागि आफूहरूलाई संसदमा छलफलको वातावारण बनाउनुपर्ने माग गर्दै आएको छ । आफूले कारबाही गरेका १४ सांसदलाई सभामुखले उन्मुक्ति दिएको भन्दै एमालेले लामो समयदेखि संसदमा अवरोध गर्दै आएको छ ।