बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । बिहीबार बसेको प्रदेशसभाको बैठकले सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
प्रदेश सरकारको नीति तथा कार्यक्रम माथि प्रदेशसभाका ९ जना सदस्यहरुले संशोधन प्रस्ताव दर्ता गराएका थिए । जसमा नेकपा एमालेका तर्फबाट ७ जना, विवेकशील साझा पार्टीका १ जना र नेमकिपाका १ जनाले संशोधन प्रस्ताव दर्ता गराएका थिए । उनीहरुले सरकारको नीति तथा कार्यक्रमको १५ वटा बुँदामा संशोधन प्रस्ताव दर्ता गराएका थिए । उनीहरुले दर्ता गराएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । संशोधन प्रस्ताव अस्वीकृत भएपछि प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
प्रदेशसभाको बिहीबार मात्र ३ वटा बैठक बसेर सरकारको नीति तथा कार्यक्रम पारित गरेको हो । बिहान ८ बजे बसेको बैठकमा एमालेले अवरोध गरेपछि केही समय प्रदेशसभाको बैठक अवरुद्ध भएको थियो । सरकारको नीति तथा कार्यक्रम माथि छलफलका लागि बसेको प्रदेशसभाको बैठकमा एमालेका सांसदहरुले कार्यविधि मिचेर अनुदान कार्यक्रम आफ्नालाई दिन कर्मचारीलाई दवाव दिएको र आफू अनुकुल काम नगरेको भन्दै केही कर्मचारीलाई सरुवा गरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका विरोध गरेपछि बैठक स्थगित भएको थियो ।
एमालेले प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, कृषि तथा पशुपन्छी विकास मन्त्री वसुन्धरा हुमागाईं र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर शरण कुमार पाण्डेको मिलेमतोमा कृषि अनुदान आफ्ना मान्छेलाई कार्यविधि विपरित नदिएको भन्दै मन्त्रालय र मातहतका कार्यालयका कर्मचारीहरुलाई दवाव दिएको तथा ३ जना कर्मचारीहरुको सरुवा समेत गरेको भन्दै विरोध गरेको थियो ।
प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको सक्रियतामा तत्काल सर्वदलीय बैठक बसेर सहमती भएपछि १० मिनेटका लागि स्थगित गरिएको प्रदेशसभाको बैठक करिव २ घण्टापछि बैठक पुनः संचालनमा आएको थियो । बैठक संचालनमा आएपछि प्रदेश सरकारको नीति तथा कार्यक्रम माथि छलफलका लागि बिहिबार बसेको बैठकमा सांसदहरुले आफ्नो धारणा राखेका थिए ।बैठकमा सरकारको नीति तथा कार्यक्रम माथि ३१ जना सांसदहरुले धारणा राखेका थिए । सांसदहरुले धारणा राखेपछि प्रदेशसभाकी उपसभामुख राधिका तामाङले प्रदेशसभाको पुनः एक घण्टाको लागि बैठक स्थगित गरेकी थिइन् ।
स्थगित भएको एक घण्टापछि बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रम माथि उठेका प्रश्नहरुको मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जवाफ दिएका थिए । सरकारको नीति तथा कार्यक्रम माथि उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पाण्डेले समाजवादी कार्यक्रम वडा तहबाटै शुरु गर्ने र सो कार्यक्रम आगामी दिनमा यो सबैले सम्झन लायक हुने बताए । विपक्षीहरुले समाजवादी कार्यक्रमको विरोध भन्दा पनि सुझाव दिन उनको आग्रह थियो । उनले विगतमा सीमान्तकृत समुदायको पक्षमा नीति तथा कार्यक्रम ल्याउन तत्कालिन सरकारले नसकेको भन्दै अहिलेको सरकारले सीमान्तकृत वर्गलाई लक्षित गरी नीति तथा कार्यक्रम ल्याएको बताए । उनले कर्मचारी अभावका कारण काम अघि बढाउन समस्या भएकाले बजेट खर्च गर्न नसकेको बताए । डिपिआर नभएका योजनामा बजेट विनियोजन गर्ने प्रवृत्तिका कारण पनि बजेट खर्च हुन नसकेको उनको भनाइ छ ।
उनले विगतको सरकारले गरेका गल्तिहरुलाई वर्तमान सरकारले सच्याउने काम गरेको बताए । मुख्यमन्त्री पाण्डेले विगतको सरकारले प्रतिपक्षले दिएको सुझावलाई समेत वेवास्ता गरेको र त्यसको नतिजा अहिले जनताले व्यहोर्नु परेको बताए । उनले नीति तथा कार्यक्रममा प्रतिपक्ष दल र सांसदहरुले दिएका रचनात्मक सुझावहरूलाई आगामी दिनमा समेटेर बजेटमा समावेश गर्ने बताए । सरकारको नीति तथा कार्यक्रम पारित भए लगत्तै प्रदेशसभाका सभामुख श्रेष्ठले प्रदेशसभाको अर्को बैठक जेठ ३१ गते दिउँसो २ बजे बस्ने गरी स्थगित गरेका छन् । उक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्ताव पेश हुने जनाइको छ ।