मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शुक्रबार मकवानपुरको मनहरी गाउँपालिकाद्धारा सञ्चालित कोरोना उपचार केन्द्र आइसोलेसन सेन्टरको स्थलगत निरिक्षण गर्नुभएको छ । मुख्यमन्त्री पौडेलले बागमती प्रदेश सरकार, जिल्ला समन्वय समिति मकवानपुरको सहयोगमा गाउँपालिले वडा नम्बर–८ मा सञ्चालन गरेको २४ वेडको आइसोलेसन सेन्टरको निरिक्षण गर्नुभएको हो ।
सो क्रममा मुख्यमन्त्री पौडेलले गाउँपालिकामा कोरोानको अवस्था, कोरोना नियन्त्रणका लागि भएका प्रयासका बारेमा गाउँपालिका अध्यक्ष एकराज उप्रेतीसंग जानकारी समेत लिनुभएको थियो । गाउँपालिका अध्यक्ष उप्रेतीले गाउँपालिकामा हालसम्म ४० जनामा कोरोना संक्रमण पुष्टि भएका मध्ये ३४ जना निको भईसकेको र हाल आइसोलेसनमा राक्सिराङ गाउँपालिकाका ४ जना संक्रमितसहित १० जना रहेको जानकारी दिनुभएको थियो । अनुगमनका क्रममा मुख्यमन्त्री पौडेलले गाउँपालिकाले सञ्चालन गरेको आइसोलेसन सेन्टर राम्रो भएको साथै कोरोना संक्रमण बढ्दै गएमा यसको व्यवस्थापकिय पक्षलाई थप ध्यान दिन निर्देशन दिनुभएको छ । उहाँले आइसोलेसन सेन्टर सञ्चालनमा कुनै समस्या भएमा सहयाेग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएकाे छ ।
मुख्यमन्त्री पौडेलले आजै मनहरी–७ रमौली स्थित ड्रागन फ्रुट र कागती खेतीको अवलोकन गर्नुका साथै प्रस्तावित मदन भन्डारी स्मृती क्षेत्रीय रङ्गशालाको वृस्तित योजनाको बारेमा जानकारी लिनुभएको थियो । रंगशाला निर्माण गर्न वागमति प्रदेश सरकारले ४० लाख बजेट उपलब्ध गराएको छ । अनुगमन टोलीमा राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, मुख्यमन्त्री पौडेलका राजनैतिक सल्लाहाकार जेएन थपलीयालगायतको सहभागिता थियो ।