मकवानपुर– जिल्ला कोभिड–१९ संटक व्यवस्थापन केन्द्र (कमाण्ड पोष्ट) मकवानपुरले शुक्रबार बागमती प्रदेशकाे राजधानी हेटौंडा बजारको अनुगमन गरेको छ । कमाण्ड पोष्टको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर व्यवसाय खोल्ने समयसिमा बढाए पछि सोको पालना भए नभएको विषयमा अनुगमन गरिएको हो ।

कामाण्ड पोष्टका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल, सल्लाहाकार एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामासहित कमाण्ड पोष्टका सदस्य तथा प्रहरीटोलीले बजार अनुगमन गरेको हो । कमाण्ड पोष्टले बजार खोलेसंगै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएको छ या छैन भनी नियमित बजार अनुगमन गर्ने निर्णय अनुसार आज हेटौंडा बजारको अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभयो ।

हेटौंडाको उद्योग वाणिज्य संघ चोकबाट बुद्धचोक, कान्तिराजपथ, स्कुलरोड, टिसिएन रोड, बसपार्क, राप्तीरोडलगायतका मुख्य बजार क्षेत्रमा अनुगमन गरीएको कमाण्ड पोष्टका सल्लाहाकार रघुनाथ खुलालले जानकारी दिनुभयो । अनुगमनका क्रममा केहि स्थानमा माक्सको प्रयोग नगरिएको पाइएको र उनीहरुलाई सुरक्षा मापदण्ड अपनाएर व्यापार व्यवसाय गर्न आग्रह गरीएको उहाँले बताउनुभयो । उहाँले अनुगमन निरन्तर दिइने समेत जानकारी दिनुभयो ।

अनुगमनटोलीमा घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाका निमित्त प्रमुख जगन्नाथ दाहाल, उद्योगवाणिज्य संघका उपाध्यक्ष माधव न्यौपाने, जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकृतलगायतको सहभागिता थियो । कमाण्ड पोष्टले हेटौंडामा विहान ५ बजेदेखि ९ बजे सम्म खाद्यान्न, तरकारी, दुग्धजन्य, मासुजन्य व्यवसाय र १० बजे देखि ३ बजे सम्म अन्य व्यवसाय खोल्ने निर्णय गरेको छ ।