काठमाडौँ – भारतसँग हार बेहोर्दै नेपाली यु–१९ महिला फुटबल टोली बङ्गलादेशमा जारी साफ यु–१९ महिला च्याम्पियनसिपबाट बाहिरिएको छ । फाइनल पुग्न बराबरीको नतिजाले पुग्ने भए पनि भारतसँग १–० को हार बेहोर्दै नेपाल लिग चरणबाटै बाहिरिएको हो । नेपालमाथिको जितसँगै भारतले फाइनलमा स्थान बनाएको छ ।
ढाकास्थित सहिद सिपाही मुस्ताफा कमल स्टेडियममा आइतबार भएको खेलमा भारतको जितमा दोस्रो हाफमा प्रियङ्का देवीले गरेको गोल नै निर्णायक बन्यो । उनले ६७ औँ मिनेटमा गोल गरेकी थिइन् । ५ टोलीको सहभागिता रहेको च्याम्पियनसिपमा नेपालले दुई जित, एक बराबरी र एक हारको नतिजा निकाल्दै लिगमा तेस्रो भयो । नेपालले चार खेलबाट ७ अङ्क जोड्यो । बङ्गलादेशसँग गोलरहित बराबरी खेल्दै च्याम्पियनसिपको सुरुवात गरेको नेपालले दोस्रो खेलमा श्रीलङ्कालाई ६–० र तेस्रो खेलमा भुटानलाई ४–० ले हराएको थियो ।
भारतसँग नेपालको हारसँगै घरेलु टोली बङ्गलादेशले फाइनलमा स्थान पक्का गरेको छ । अब बङ्गलादेशले अन्तिम खेलमा श्रीलङ्कालाई घरेलु टोली समूहको शीर्षस्थानमा रहने छ । लिग चरणमा भारत र बङ्गलादेशले खेल्दा घरेलु टोलीले १–० को जित निकालेको थियो ।