मकवानपुर – बागमती प्रदेशकाे राजधानी हेटौंडाबाट आईतबार (आज) बाट १२ देखि १८ बर्षका बालबालिकाहरूलाई कोरोना विरुद्धको मोर्डना खोप अभियान शुभारम्भ भएको छ । आईतबार एक कार्यक्रमका बीच नेपाल सरकारका स्वास्थ्य मन्त्री विरोध खतिवडाले हेटौंडामा खोप अभियानको शुभारम्भ गर्नुभएको हो ।

सरकारले आजबाट कोरोना भाइरस विरुद्ध १२ देखि १८ बर्ष उमेर समुहका बालबालिकाहरूलाई मोर्डना खोप दिन सुरु गरेको छ । मन्त्री खतिवडाले स्वास्थ्य कर्मीलाई खोपको बाकस हस्तान्तरण गर्दै नेपालभर बालबालिाकालाई बिद्यालयमै खोप लगाउने अभियानकोे शुभारम्भ गर्नुभयो । अभियानको शुभारम्भ गर्नुहुँदै मन्त्री खतिवडाले विद्यार्थीहरुलाई सहज होस् भन्ने उदेश्यका साथ देशभर विद्यालयमै खोप लगाउने व्यवस्था मिलाइएको बताउनुहुँदै खोप अभियानमा सहभागि हुन सबैलाई आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले बागमती प्रदेशमा दुइलाख भन्दा धेरै बालबालिकाले कोरोना बिरुद्धको खोप लगाउने बताउनुभयो । मकवानपुरमा पुस १४ गतेसम्म अभियान सञ्चालन हुने बताईएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले आयोजना गरेको कार्यक्रम मकवानपुरका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला खोप समन्वय समितिका अध्यक्ष भरतमणि पाण्डको अध्यक्षतामा भएको हो । कार्यक्रममा स्वास्थ्य कार्यलय मकवानपुरका प्रमुख प्रणय कुमार उपाध्यायलगायत विभिन्न प्रदेश मन्त्रालयका सचिवहरुको उपस्थिती रहेको थियो ।