आन्तरिक विवादका कारण पटक–पटक बिथोलिँदै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक महाधिवेशनको मिति तय गर्दै सकिएको छ । बैठकले पार्टीको केन्द्रीय महाधिवेशनको मिति तय गरेको छ भने दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालको कार्यविभाजन गरेको छ ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभएको जानकारी अनुसार नेकपाको महाधिवेशन आगामी चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा हुनेछ । महाधिवेशनबारे गृहकार्य गर्न कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरिएको छ,’ उहाँले भन्नुभयो । बैठकले अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई सरकार सञ्चालन र अध्यक्ष दाहाललाई पार्टी काममा केन्द्रित हुने गरी कार्यविभाजन गरेको छ । यस्तै कार्यविभाजन २०७६ मंसिर ५ गतेको बैठकमा नै नेकपाले गरिसकेको थियो । असार १० देखि सुरु भएको बैठक पटक–पटक अबरुद्ध हुँदै शुक्रबार सकिएको हो ।

त्यस्तै बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई आवश्यकताअनुसार संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ । वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलको सुझावलाई ध्यानमा राखेर छलफल गर्ने र संशोधनसहित प्रक्रिया अगाडि बढाउने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । स्थायी कमिटी बैठक समापनमा अध्यक्षद्वय ओली र दाहालले संक्षिप्त सम्बोधन गर्नुभएको थियो । उहाँहरुले यसबीचमा भएका उतारचढावबाट शिक्षा लिँदै पार्टीलाई नयाँ उचाईको एकता र संकल्पसहित अगाडि बढाइने प्रतिबद्धता जनाउनुभएको थियो ।
बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानीको अतिक्रमित भूभागसहितको नयाँ नक्सा जारी गर्ने, संविधान संशोधन गर्ने कार्य गरेकोमा सरकारलाई धन्यवाद दिएको छ । यसैगरी कोभिड– १९ नियन्त्रण, रोकथाम र उपचारमा सरकारले बढाएका योजनालाई सकारात्मक लिँदै बैठकले थप प्रभावकारी कार्य गर्न आग्रह गरेको छ । बैठकमा १३ जना नेताहरुले आ–आफ्नो धारणा राख्नुभएको थियो । नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, अमृतकुमार बोहरा, युवराज ज्ञवाली, भीम रावल, घनश्याम भूसाल, अष्टलक्ष्मी शाक्य, देव गुरुङ, मातृकाप्रसाद यादव, रघुजी पन्त, लिलामणि पोखरेल, भीम आचार्यले सुझाव राख्नुभएको थियो ।