मकवानपुर– मकवानपुरको भीमफेदी गाउँपालिकाले किशानलाई ६० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण गरेको छ । गाउँपािलकाले कृषि क्षेत्रलाई व्यवसायीकरण एवम् यान्त्रिकिकरण गर्ने उदेश्यका साथ किशानलाई कृषि यन्त्र वितरण गरेको हो ।

गाउँपालिकाको कृषि विकास शाखाले मकै बालीमा लग्ने अमेरिकन फौजीकीरा र यसको ब्यबस्थापन सम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम आयोजना गरेर सोहि कार्यक्रमका अवसरमा कृषकहरुलाई कृषि सामग्री वितरण गरेको हो । वडा नम्बर ६ का वडा अध्यक्ष एवम् आर्थिक विकास संयोजक सीताराम थापाको सभाध्यक्षता भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष हिदम लामाले कृषकलाई कृषि उपकरण वितरण गर्नुभएको थियो । लामाले ७ हर्ज पावरको २० वटा र ५ हर्ज पावरको २ वटा मिनिटिलर ट्याक्टर तथा १० थान च्याफकटर वितरण गर्नुभएको हो । गाउँपालिकाले सहयोग सामाग्रीबाट किसानलाई कृषि कार्य गर्नका लागि सरल र सहज हुने विश्वासका साथ ६० प्रतिशत अनुदानमा सामाग्री वितरण गरिएको अध्यक्ष लामाले बताउनुभयो । कार्यक्रममा भीमफेदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन कुवंर, ५ नम्बर वडा अध्यक्ष जहारसिं लामा, योजना शाखा प्रमुख बद्री सापकोटा तथा कृषि प्राविधिकहरुको उपस्थित रहेको थियो ।