नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अहित हुने काममा एमाले कहिल्यै नलाग्ने बताउनुभएको छ । नेकपा एमाले गण्डकी प्रदेश कमिटीद्वारा शुक्रवार पोखरामा आयोजित गण्डकी प्रदेशका अगुवा कार्यकर्ता भेलामा अध्यक्ष ओलीले यथास्थितिमा एमसिसिको पक्षमा सम्झौता गर्ने पक्षमा एमाले नरहेको बताउनुभयो ।
‘एमाले साना मसिना कुरामा अल्झिने पार्टी हैन, स्थानीय निर्वाचनको मिति घोषणासँगै एमालेको ध्यान निर्वाचनप्रति केन्द्रित छ’ उहाँले भन्नुभयो ‘राष्ट्रियता, भूमि र सीमाना संरक्षणमा एमालेले कसैसँगै सम्झौता गर्दैन, हामी बलियो राष्ट्र बनाउनेतर्फ लाग्छौ । राष्ट्रियताका लागि सबै नेपाली एकजुट हुनुपर्छ’ कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश समितिका इन्चार्ज गणेशमान गुरुङ एमाले प्रवेश गर्नुभएको छ । गुरुङसहित विभिन्न पाटी परित्याग गरी करिब एक हजार व्यक्ति एमाले प्रवेश गरेको एमाले प्रदेश सचिव धनञ्जय दवाडीले बताउनुभयो ।