हेटौंडा, फागुन २० । सरकारले तीन करोड रुपैयाँभन्दा धेरै मूल्यको घरजग्गा कारोबार इजाजत प्राप्त कम्पनीमार्फत मात्र गर्नुपर्ने निर्णय तत्कालका लागि स्थगित गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले मातहतका मालपोत कार्यालयहरूलाई पुरानै प्रक्रियाअनुसार काम अघि बढाउन परिपत्र गरेको हो ।
विभागले गएको असोज २७ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा तीन करोड रुपैयाँभन्दा धेरै मूल्यको घरजग्गा कारोबार इजाजत प्राप्त कम्पनीमार्फत मात्र गर्नुपर्ने जानकारी गराएको थियो ।
यही फागुन २५ गतेदेखि कार्यान्वयनमा आउने यो व्यवस्थाका लागि प्राविधिक तयारी नपुगेकाले स्थगित गरेको विभागले जनाएको छ । सरकारबाट इजाजत पाएका ३६ वटा कम्पनीले अहिलेसम्म भू–सेवा केन्द्र सञ्चालनको अनुमति नपाइसकेकाले अर्को आदेश नभएसम्म नयाँ व्यवस्था रोकिएको हो । अब सर्वसाधारणले तत्कालका लागि तीन करोडभन्दा माथिको घरजग्गा खरिद–बिक्री गर्दा इजाजत प्राप्त कम्पनी खोज्नुपर्ने छैन र पहिलेकै नियमित प्रक्रियाबाटै लिखत पारित र नामसारी गर्न सकिनेछ ।









