मकवानपुरको थाहा नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा डाक्टरको अभाव भएको छ । स्वास्थ्य केन्द्र पालुङमा कार्यरत् डाक्टरहरु समायोजन भै अन्यत्र गएको र एकजना डाक्टरले अन्यत्र सरुवा हुन माग गरेपछि स्वास्थ्य केन्द्र डाक्टर विहिन भएको हो । अहिले डाक्टरबाट हुने सेवा प्रवाह हुन सकेको छैन ।
१५ शैयाको अस्पतालका लागि प्रस्ताव गरिएको स्वास्थ्य केन्द्रमा डाक्टर नभएपछि व्यवस्थापन समितिले नगरपालिकालाई अनुरोध गरेको छ । स्वास्थ्य केन्द्रमा डाक्टर अभावभएपछि व्यवस्थापन समितिको बैठक बसेर निर्णय गरी नगरपालिकामा माग गरिएको व्यवस्थापन समितिका अध्यक्ष दीपक सिं लामाले बताए । अध्यक्ष लामाले भने–‘हाम्रो माग गर्ने निकाय भनेको नगरपालिका नै हो, मागेका छौं, हाम्रो तर्फबाट पनि डाक्टर ल्याउनको लागि परेका छौं ।’
नगरपालिकाको एक मात्र स्वास्थ्य केन्द्रमा डाक्टर अभाव भएपछि नगर प्रमुख लवशेर विष्ट पनि डाक्टर ल्याउन जुटेका छन् । उनले स्वास्थ्य केन्द्रमा डाक्टर नभएको र समस्या भएको स्वासथ्य मन्त्रालयसम्म जानकारी गराइसकेको बताए । उनले भने–‘नागरिकको उपचारको लागि हामी लागि परेका छौं, छिट्टै डाक्टर आउँछन् ।’ प्राथमिक स्वासथ्य केन्द्रमा एक डाक्टर सहित कार्यालय सहयोगी समेत गरी १२ जनाको दरबन्दी रहेको थाहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले बताए ।