एसियाली विकास बैंक एडीबीले आउँदो अंग्रेजी वर्ष अर्थात सन् २०२४ मा नेपालको अर्थतन्त्र सुधार हुने जनाएको छ । ‘नेपाल माइक्रो इकोनोमिक अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै एडीबीले सन् २०२३ को तुलनामा सन् २०२४ मा नेपालको अर्थतन्त्र सुधार हुने जनाएको हो ।
नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा १.९ र सन् २०२४ मा ४.३ प्रतिशत रहने प्रक्षेपण प्रतिवेदनमा उल्लेख छ । उत्पादन तथा निर्माण क्षेत्रमा यस वर्षको तुलनामा आउँदो वर्ष उल्लेख्य सुधार देखिने एडिबीको अनुमान छ ।
त्यस्तै, नेपालमा यो वर्ष अर्थात सन् २०२३ मा मूल्यवृद्धि ७.७ प्रतिशत रहने अनुमान एडिबीको छ । आउँदो वर्ष भने घटेर ६.२ प्रतिशत कायम हुने प्रक्षेपण छ । यस वर्ष मूल्यवृद्धि बढ्नुमा विश्व बजारमा भएको पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि र अमेरिकी डलरको भाउ बढ्नुलाई कारण मानिएको छ । न्यून खर्च र राजस्व सङ्कलनले समग्र बैकिङ प्रणालीको तरलतामा असर गरेको एडिबीले जनाएको छ ।
आउँदो वर्ष सम्ममा नौ सय मेगावाट बराबर विद्युत् उत्पादन थपिने अनुमान गरिएकाले यसले पनि आर्थिक विकासमा केही सहयोग गर्ने अनुमान एडिबीको छ । त्यसकारण औद्योगिक क्षेत्रमा सन् २०२४ मा ६.३ प्रतिशतको वृद्धि देखिने अनुमान छ । घरजग्गा, खुद्रा तथा होलसेल बजारमा राम्रो सुधार हुने प्रतिवेदनमा उल्लेख छ । नेपालको अर्थतन्त्र सुधारोन्मुख देखिए पनि चुनौती भने कायमै रहेको एडिबीले जनाएको छ ।