सभामुख देवराज घिमिरेले संसद्को कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्नुभएको छ । सभामुख घिमिरेले आज आफ्नै कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुभएको हो ।
छलफलमा संसदमा विचाराधीन रहेका सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक, संवैधानिक परिषद् सम्बन्धी विधेयक तथा सम्पत्ति सुद्धिकरण सम्बन्धी विधेयक अगाडि बढाउनेबारे छलफल भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्री र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक संसदबाटै टुङ्गाउने प्रस्ताव राखे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समितिमा लैजानुपर्ने धारणा राखेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । दलहरूबीच २८ गते बिहान पुनः बैठक बस्ने र बीचको बाटो खोजी गर्ने सहमतिसमेत भएको प्रधानमन्त्रीले प्रचण्डले जानकारी दिनुभयो ।
बैठकबाट बाहिरिने क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक विशेष समितिमा लगेर भए पनि टुङ्गाउनुपर्ने बताउनुभयो ।
यस्तै बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभामुख घिमिरेले शीर्ष नेताहरूबीच छलफल र कुराकानी हुन नसकिरहेको अवस्थामा आफूले पहल गरेको र छलफल र सहमतिबाट अगाडि बढ्ने सहमति भएको बताउनुभयो । सभामुख घिमिरेले संसद्को विषयगत समितिहरू गठन गर्ने लगायतका विषयमा समेत दलहरूबीच छलफल भइरहेको र छिट्टै निष्कर्षमा पुग्ने पनि बताउनुभयो ।