हेटौंडा – नेकपा एमाले हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडा कमिटीको १४औं वडा अधिवेशन तथा नगर अधिवेशन प्रतिनिधि छनौट शुक्रबार सम्पन्न भएको छ । ६ नम्बर वडा कमिटी अध्यक्ष पुष्पराज पराजुलीको अध्यक्षतामा भएको अधिवेशनमा नेकपा एमाले बागमती प्रदेश संगठन विभाग प्रमुख एवं प्रतिनिधि सभा सदस्य अनन्त पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि पौडेलले पार्टी फुटाएर जानेको हैसियत अब आउने चुनावपछी देखिने बताउनुभयो । २०५४ सालपछी पुन अहिले नेकपा एमाले फुट्नबाट जोगिएको बताउनुभयो । एमालेको नेता कार्यकर्ताको बलमा एमालेलाई फुट्नबाट जोगाउन सफल भएको भन्दै सबै कार्यकर्तालाई धन्यवाद दिनुभयो ।
उहाँले माधव नेपाललाई कटाक्ष गर्दै १५ बर्ष पार्टीको नेतृत्व गरेर बसेको व्यक्ति टुक्रे पार्टीको अध्यक्ष बनेर कुन हैसियत हासिल गरे जनताले बुझेका छन् भन्नुभयो । देशमा केपि ओलि नेतृत्वको सरकारले गरेको जनअपेक्षित काम, त्रिदेशिय व्यापार सम्झौता, देशको सार्वभौमिकता जोगाउन गरेको निर्णय, भारतले लगाएको नाकाबन्दी विरुद्ध लिएको अडान लगाएतका कामको कारण जनताको मनमा एमालेप्रती विश्वास बढेको बताउनुभयो ।

जिल्ला कमिटी सचीव एकालाल श्रेष्ठले एमाले जनताको मनमा बसेको पार्टी भएको बताउनुभयो । एमाले जहिले जहिले सत्तामा पुग्यो तबतब जनताको लागि र देश बिकासको लागि काम गरेको हुनाले फेरिपनी आउने चुनावमा जनताले एमालेलाई अत्याधिक मत दिने बताउनुभयो । लामो समय क्रियाकलाप बिहिन बनेको संगठनलाई सुदृढ र सङ्गठित गराउन गएको बिधान महाधिवेशनले लक्ष्य लिएको र सोही अनुरुप एमालेले सबै कमिटीको अधिवेशन सुरु गरिएको बताउनुभयो । एमाले भित्र रहेका अराजक र अनुशासनहिन व्यक्तिहरु अहिले स्वार्थ पूरा गर्न पार्टी छोडेर गएको भन्दै अहिलेको सरकार स्वार्थले भरिएको गठबन्धन भएको बताउदै यो गठबन्धन धेरै समय नटिक्ने दाबी गर्नुभयो । एमालेप्रती जनताको आकर्षण बढिरहेको भन्दै एमाले कमजोर नभएको बताउनुभयो । जिल्ला कमिटी सदस्य साधुराम चौलागाईं, नगर सदस्य तथा वडा इन्चार्ज गणेश दुलाल, वडा सह इन्चार्ज कृष्ण प्रसाद खतिवडा, युवा संघ नगर सचीव मनोज चौलागाईं लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।