file photo

हेटौंडा – आसन्न स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरका लागि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले दाबी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको कार्यदल बैठकमा माओवादीले र एसले दुवै पार्टीले हेटौंडा उपमहानगरपालिकाको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेका हुन् ।
नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिका र चार उपमहानगरपालिकाको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेको छ । सत्तारुढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकमा माओवादी नेता वर्षमान पुनले तीन वटा महानरपालिका काठमाडौं, ललितपुर र विराटनगर नेपाली कांग्रेसले लिएर तीन वटा अरु दललाई दिन प्रस्ताव गरेका हुन् ।
भरतपुर माओवादी केन्द्र, वीरगञ्ज जनता समाजवादी पार्टी (जसपा) र पोखरा एकीकृत समाजवादीले लिने उहाँले प्रस्ताव गर्नुभएको छ । ११ उपमहानगरपालिकामध्ये जितपुर सिमरा, घोराही, धरान र हेटौंडाको नेतृत्व माओवादी केन्द्रले पाउनुपर्ने पुनले बताउनुभएको छ ।
त्यस्तै एकीकृत समाजवादी पार्टीले पोखरा महानगरपालिका र तीन उपमहानगरपालिको प्रमुख आफ्नो दलले पाउनुपर्ने बताएको छ । महानगरपालिकाको नेतृत्व नदिने भए चुनावी तालमेलबारे थप छलफल गर्न नसकिने एकीकृत समाजवादीका नेताहरुले बताएका छन् । सत्तारुढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकमा महासचिव बेदुराम भुसाल र विजय पौडेल सहभागी हुनु हुन्थ्यो । बैठकमा नेताहरुले पोखरा महानगरको नेतृत्व पाउनुपर्ने दाबी गर्नुभएको छ । यस्तै इटहरी, हेटौंडा र बुटवल वा तुलसीपुरमध्ये एक उपमहानगरपालिकाको नेतृत्व र घोराही, जनकपुर र नेपालगञ्जको उपमेयरको उम्मेदवारहरु आफूहरुलाई चाहिने एकीकृत समाजवादीको दाबी छ ।
बैठकमा संयोजक एवं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अस्वभाविक दाबी गर्न नहुने र पार्टीको समर्थनको ठूलो पङ्ति हुन्छ भन्ने बिर्सन नहुने बताउनुभएको छ । तर एकीकृत समाजवादीका नेताहरुले वृहत शान्ति सम्झौतापछि शान्ति प्रक्रियामा आएको माओवादीलाई संसदमा ८२ सिट दिएको स्मरण गर्दै आफूहरुको विद्रोहलाई बुझ्न आग्रह गर्नुभएको छ ।
बैठकमा पाँच दलका नेताहरूले आ–आफ्नो दाबी पेस गरेर उठेपछि महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँटको सहमति हुन सकेन । बैठकले आइतबार कुनै टुंगो लगाउन नसकेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।