काठमाडौं : सत्यसेवा र जनताको सुरक्षाको जिम्मा लिएका प्रहरी पनि अपराधमा संलग्न हुने गरेका छन् । चेन अफ कमान्ड र कडा अनुशासनको घेराभित्र रहने प्रहरी अपराधमा संलग्न भएका घटना यी भने नौला होइनन्। समाजमा हुने विभिन्न अपराधमा संलग्न हुने प्रहरीको संख्या उल्लेख्य छ ।
प्रहरीमाथि कहिले अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियारमा मुद्दा परिरहेको हुन्छ त कहिले आपराधिक गतिविधिमा लागेको आरोपमा पक्राउ परेका हुन्छन् । उनीहरू कहिले सुन तस्करीमा मुछिएका हुन्छन्, त कहिले कालोबजारीसँग मिलेर लुटपाट मच्चाइरहेका हुन्छन् ।
प्रहरी प्रधान कार्यालय नक्सालले दिएको तथ्यांकअनुसार आव २०७८ देखि हालसम्म ४२ जना प्रहरी कर्मचारी विभिन्न अपराधमा मुछिएर कारबाहीमा परेका छन् । जसमध्ये कर्तव्य ज्यान मुद्दामा ४ जना, आत्महत्या दुरुत्साहनमा ३ जना, लागुऔषधमा १० जना, कुटपिटमा ३ जना, डाका चोरीमा २ जना, सरकारी छाप कीर्तेमा १ जना र जबर्जस्ती करणी कसुरमा १६ जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन् ।
नेपाल प्रहरीका प्रवक्ता भीमप्रसाद ढकालका अनुसार प्रहरी कर्मचारी अपराध कर्ममा मुछिनुलाई व्यक्तिगत व्यवहारको रूपमा बुझ्छन्। उनी भन्छन्, ‘मान्छेको चरित्रअनुसार अपराध कर्ममा लाग्ने गर्छन्। लोभ, लालच र अहंकारमा पर्दा प्रहरी अपराध कर्ममा लाग्ने गर्छन् ।’ पद र राज्यले दिएको जिम्मेवारी पूरा नगरी व्यक्तिगत लाभमा लाग्ने प्रहरीलाई संगठनले माफ नगर्ने उनको तर्क थियो। हुन त अपराध गर्ने छुट कसैलाई छैन । तर अपराध अनुसन्धान गर्ने र समाजमा शान्ति सुरक्षा प्रवाह गर्ने जिम्मा पाएको प्रहरीलाई झन् क्षणिक लाभका लागि अपराध कर्ममा लाग्नु अक्षम्य गल्ती हो ।
प्रहरी प्रवक्ता ढकाल भन्छन्, ‘प्रहरीलाई गल्ती गर्ने छुट नै छैन। जानाजान गल्ती गर्छ र प्रहरी सेवामा हुँदा सही आचरणमा नबस्ने जो कोहीलाई कानुनी कारबाही गरिनेछ । संगठनभित्र नैतिक आचरणका सिकाउन विभिन्न कार्यक्रमहरू लागु भएका छन् । तनाव नियन्त्रणका लागि मनोसामाजिक परामर्श सेवासमेत संगठनमा सुरु भएको छ । हरेक प्रहरी कार्यालयमा अधिकृत स्तरीय छलफल परामर्श तथा व्यक्तिगत समस्या सुन्ने र सुनाउने कार्यक्रमसमेत संगठनले चलाएको छ । अपराधविरुद्ध प्रहरी आक्रामक भएर लागेको छ ।’
अन्नपूर्णमा खबर छ ।