हेटाैंडा– हेटौँडा–४ स्थित हेटौँडा क्याम्पसमा कपासको बत्ती कात्ने सिप विकास तथा प्रतियोगिता हेटौँडा क्याम्पस हेटौँडामा शुक्रबार सम्पन्न भएको छ । संस्कृतिको रक्षा एवम् रोजगारमूलक सिप सिकाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हाे ।

दुई चरणमा सञ्चालन गरिएको कार्यक्रमको पहिलो चरणमा विद्यार्थीहरुलाई कपासको बत्ती कात्न सिकाइएको थियो । बत्ती कात्ने सिप सिकाइको सहजीकरण क्याम्पसका कार्यालय सहयोगी कमला रोक्काले गर्नुभएको थियो भने दोस्रो चरणमा विद्यार्थीहरुबिच बत्ती कात्ने प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगितामा बि.बि.एस. प्रथम वर्षकी अस्मिता पुडासैनी प्रथम, बि.एड. तेस्रो वर्षकी सन्ध्या पोखरेल द्वितीय र बि.बि.एस. प्रथम वर्षकी मिना अधिकारी तृतीय भएका अतिरिक्त क्रियाकलाप समितिका संयोजक मनोज पोखरेलले जानकारी दिनुभयाे । कार्यक्रममा क्याम्पस प्रमुख देवचन्द्र मानन्धर, सहायक क्याम्पस प्रमुख देवीराम लामा, परीक्षा विभाग प्रमुख शिवराज पराजुली, यु.रे.स. हेटौँडा क्याम्पस सचिव दिपेश लामिछाने, पूर्व विद्यार्थी समाजका सदस्य सुलभ अधिकारी लगायतको उपस्थिती रहेकाे थियो ।