sdr

हेटौंडा- ३ नम्बर प्रदेशको प्रदेश सभाको आईतबार बसेको बैठकमा प्रदेश लोकसेवा आयोग गठन सम्बन्धी विधेयक पेश भएको छ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश लोकसेवा आयोग गठन सम्बन्धी विधेयक पेश गर्नुभएको हो ।
मुख्यमन्त्री पौडेलले प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य, अधिकार र कार्यविध सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आईतबार बसेको प्रदेश सभा बैठकमा पेश गर्नुभएको हो । त्यस्तै उहाँले प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक पनि आजको प्रदेश सभामा पेश गर्नुभएको छ ।
प्रदेशसभाको आजको बैठकमा आधा दर्जन विधेयक पेश भएका छन् । बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलको तर्फबाट आन्तरिक मामिला तथा कानुनी मन्त्री शालिकराम जम्कट्टेलले सार्वजनिक निजि सहकारी साझेदारी सम्बन्धी विधेयक संसदमा पेश गर्नुभएको छ । त्यस्तै प्रदेश मामिला समितिका सभापति माधव पौडेलले प्रदेश सूचनाको हकसम्बन्धी विधेयक र शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहालले मदनकुमार भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयक समितिको प्रतिवेदनसहित पेश गर्नुभएको छ । त्यस्तै, प्रदेशसभा नियमावली संशोधन समितिले तयार पारेको प्रदेशसभा नियमावली २०७४ पहिलो संशोधन समितिका संयोजक रामेश्वर फुँयालले संसदमा पेश गर्नुभएको छ । प्रदेश सभाको बैठक सोमबार विहान ११ बजे बस्नेछ ।