फाइल फाेटाे

हेटौंडा- ३ नम्बर प्रदेशको आईतबार बसेको प्रदेशसभा बैठकमा प्रदेशको स्थायी राजधानी र नामाकरण देखि पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणसम्मका विषय उठेका छन् । आइतबार बसेको बैठकमा अधिकांश सांसदले प्राकृतिक प्रकोपको बारेमा आफ्ना क्षेत्रका समस्या उठाएका थिए भने स्थायि राजधानी र पुडासैनीको मृत्यु प्रकरणको विषयले समेत प्रवेश पाएको थियो ।
प्रदेशसभामा बोल्दै प्रदेशसभा सदस्य निमा लामाले प्रदेश सरकार गठन भएको १८ महिना बितिसक्दा पनि राजधानी र नामको टुंगो नलागेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले राजधानी अध्ययन विशेष समितिको प्रतिवेदन र कार्यविधि समेत बनिसकेको अवस्थामा दराजमा थन्क्याईएको भन्दै यथाशिघ्र राजधानी र नामको विषय अघि बढ्नुपर्ने माग गर्नुभएको छ । उहाँले मूख्यमन्त्री र कानूनमन्त्रीले सदनमा पटक पटक छिटै सहमतिमा टुंगिन्छ भनेर संसदलाई अनिर्णयको बन्दी बनाएको गुनासो गर्नुभयो ।
प्रदेशसभा सदस्य केशवराज पाण्डेले शालिकराम पुडासैनी हत्या प्रकरणको बारेमा संसदमा कुरा उठाउनुभएको थियो । उहाँले घटनाको छानविन नगर्न सडकमा नारा लगाईएको प्रति आपत्ति जनाउँदै राज्यको कानून अनुसार घटनाको छानविन हुनुपर्नेमा जोड दिनुभयो । प्रदेशसभा सदस्यहरु रामकाजी महर्जन, लालकुमारी पुन, सरस्वति बस्नेत, विशाल खड्काले विपदका कारण सडक सञ्जाल, खानेपानी लगायतका संरचना क्षतिग्रस्त भएको भन्दै यथाशिघ्र राहत र पुर्नस्थापनाको काम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।