मकवानपुर — भीमफेदी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ९० करोड ६ लाख रुपैयाँको बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। पालिकाका उपाध्यक्ष संजीव श्रेष्ठद्वारा प्रस्तुत उक्त नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष हिदम लामाको अध्यक्षतामा सम्पन्न गाउँसभा बैठकमार्फत प्रस्तुत गरिएको हो।

गएको वर्षको ८५ करोड ४५ लाख ८७ हजार रुपैयाँको तुलनामा यस वर्षको बजेटमा करिब ५ करोडको वृद्धि गरिएको छ। प्रस्तुत बजेटले कृषि, पर्यटन, शिक्षा, सामाजिक सुरक्षा, पूर्वाधार विकास, वातावरण संरक्षण र समावेशीकरणका क्षेत्रलाई प्राथमिकतामा राखेको छ।

पर्यटन प्रवर्द्धनतर्फ, ऐतिहासिक एवं धार्मिक महत्व बोकेको भीमफेदी सहरको पुनर्जागरण गरी सांस्कृतिक सहरको रूपमा विकास गर्ने, साथै निजी क्षेत्रको सहकार्यमा केबलकार निर्माणका लागि आवश्यक नीति तथा सहजीकरणको व्यवस्था गर्ने उल्लेख गरिएको छ। यिनै माध्यमबाट स्थानीय रोजगारी र पर्यटन आम्दानी अभिवृद्धि गर्ने उद्देश्य लिइएको छ।

कृषि क्षेत्रमा, स्थानीय स्तरमा उत्पादन हुने रायोको साग, मुला, बन्दा, काउली जस्ता तरकारीहरुको मूल्य सुनिश्चित गर्न कृषि उपज प्रशोधन केन्द्र स्थापना गरिनेछ। यसका लागि प्रदेश सरकारसँग सहकार्य गरिने बताइएको छ। व्यवसाय प्रवर्द्धनका लागि पालिकाभित्र दर्ता हुने व्यावसायिक प्रतिष्ठानलाई निःशुल्क दर्ता गरिने व्यवस्था गरिएको छ, भने लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नीतिगत सुधार गरिने उल्लेख छ।

सामाजिक सुरक्षाको सन्दर्भमा, यसअघि पालिकाले अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने कार्यक्रम सञ्चालन गरिसकेकोमा, अब महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई समेत यसमा समावेश गरिने भएको छ। अध्यक्ष लामाका अनुसार, यस कार्यले श्रमिक वर्गको सामाजिक सुरक्षा सुनिश्चित गर्दै संस्थागत स्थायित्वमा योगदान पुर्‍याउनेछ।

शिक्षा क्षेत्रमा पनि पालिकाले विभिन्न नवप्रवर्तनात्मक योजना अघि सारेको छ। ‘सभ्य, खुसी, समतामूलक र समृद्ध भीमफेदी’ निर्माणको लक्ष्यसहित शिक्षालाई आधार बनाउने नीति लिइएको छ। विद्यालयस्तरमा ‘किताब रहित शुक्रवार’ लागू गर्दै उक्त दिनमा सिपमूलक तालिम, खेलकुद, मोबाइल तथा कम्प्युटर मर्मतजस्ता व्यवहारिक सीपमा आधारित क्रियाकलाप सञ्चालन गरिनेछ। साथै तामाङ भाषामा अध्ययन–अध्यापन सञ्चालन गर्ने र विद्यार्थीलाई गणित तथा विज्ञानमा अभिरुचि बढाउने उद्देश्यले ‘स्टिम क्याम्प’ सञ्चालन गर्ने योजना छ।

सामाजिक क्षेत्रतर्फ, विपन्न नागरिकलाई आकस्मिक अवस्थाका लागि उपचार सहायता कोषको स्थापना, लैंगिक समानता, सामाजिक समावेशीकरण, संस्कृतिक संरक्षण तथा खानेपानी पहुँच अभिवृद्धिजस्ता कार्यक्रम समावेश गरिएको छ।

प्राकृतिक स्रोत संरक्षणतर्फ, पालिकाले वन क्षेत्रको संरक्षण, बहुउपयोग, वातावरणीय क्षति न्यूनीकरण तथा सामुदायिक वनलाई थप जिम्मेवार बनाउने नीति सार्वजनिक गरेको छ। साथै, विपद् व्यवस्थापनतर्फ योजनाबद्ध ढंगले कार्यक्रम सञ्चालन गरिने बताइएको छ। प्रमुख प्रशासकीय अधिकृत जीवन कुँवरका अनुसार प्रस्तुत नीति तथा कार्यक्रमले समग्र गाउँपालिकाको दिगो विकास, समावेशी सहभागिता र सेवा प्रवाहमा गुणात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ।