मकवानपुर, असार १० — राक्सिराङ गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ६३ करोड ५२ लाख ३१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । पालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को तुलनामा ८ करोड ९० लाख ५८ हजार रुपैयाँकाे बजेट बढाएर सार्वजनीक गरेकाे हो ।

गत वर्ष गाउँपालिकाले ५४ करोड ६१ लाख ७३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको थियो। मंगलबार सम्पन्न गाउँसभामा उपाध्यक्ष वनस्तम थिङले आगामी वर्षको बजेट प्रस्तुत गर्दै चालु तथा पूँजीगत खर्चको विवरण, संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदान र आन्तरिक स्रोतको आम्दानीसमेत उल्लेख गर्नुभएको थियो ।

प्रस्तावित बजेट अनुसार चालु खर्चतर्फ ४८ करोड ५३ लाख ५४ हजार रुपैयाँ र पूँजीगत खर्चतर्फ १४ करोड ९८ लाख ७७ हजार रुपैयाँ विनियोजन गरिएको छ। गाउँपालिकाले बजेटका लागि स्रोत व्यवस्थापन अन्तर्गत संघीय सरकारबाट ४३ करोड ८९ लाख ७८ हजार, प्रदेश सरकारबाट १० करोड ५८ लाख २२ हजार र आन्तरिक आम्दानीबाट ९ करोड ४ लाख ३० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा चालु खर्चमा वृद्धि भएको देखिएको छ भने पूँजीगत खर्च अघिल्लो वर्षको तुलनामा घटाइएको छ। संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान रकममा पनि वृद्धि भएको देखिन्छ ।