प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रौतहटको गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउने प्रतिबद्धता जनाउनु भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज पीडितहरुसँगको भेटमा उहाँले पीडितसँग वार्ताका लागि छिट्टै गृह सचिवको संयोजकत्वमा समिति बनाउने बताउनु भएकाे हाे ।
सोह्र वर्ष अघि गौरमा भएको घटनामा परेर तत्कालीन नेकपा (माओवादी) का २७ जना कार्यकर्ताको ज्यान गएकाे थियाे । त्यस घटनाका पीडितले विभिन्न माग राखेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि प्रधानमन्त्री प्रचण्डले वार्तामार्फत् समस्याको समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको हो । प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयका सहसचिव अर्जुन भण्डारीले यही साउन १८ गते पीडित सङ्घर्ष समितिका रुपसागर उपाध्यायलाई वार्तामा आउन आग्रह गर्दै पत्राचार गर्नुभएको थियो ।
‘गौर हत्याकाण्ड पीडित सङ्घर्ष समितिका माध्यमबाट विभिन्न मागसहित आन्दोलन गर्ने जानकारीप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण भएको छ । सङ्घर्ष समितिका मागका सम्बन्धमा वार्ता/संवादका माध्यमबाट तत्काल समाधान गर्न प्रधानमन्त्री प्रचण्डबाट निर्देशनसमेत भएकाले आन्दोलनका कार्यक्रम फिर्ता लिइ वार्ता/संवादमा आउन हार्दिक अनुरोध छ’, पत्रमा उल्लेख छ । त्यही पत्रका आधारमा आज प्रधानमन्त्री प्रचण्ड र त्यस घटनाका पीडितबीच प्रधानमन्त्री निवासमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।