मकवानपुर – पछिल्लो केहि दिनदेखि परेको निरन्तर वर्षाको कारण आएको बाढी तथा पहिरोले मकवानपुरको राक्सिराङ गाउँपालिकामा ३ घर र २ गोठ पूर्ण क्षती भएको छ । गाउँपालिकाको वडा नम्बर ७ को विभिन्न स्थानमा बाढी तथा पहिरोले ३ घर, २ गोठमा पूर्ण क्षती भएको र ३ वटा गोरु बगाएको वडा अध्यक्ष कुलबहादुर प्रजाले जानकारी दिनुभयो ।
वडा अध्यक्ष प्रजाका अनुसार वर्षाको कारण पहिरोले वडा नम्बर–७ चरिमाराका बिरबहादुर सुनार, डकरीका सोमबहादुर प्रजा र धकाङ्टोलको बनैली मायाँ प्रजाको घर पुरिएको हो । पहिरोबाट मानविय नभए पनि घर भने पूर्ण रुपमा क्षती भएको वडा अध्यक्ष प्रजाले बताउनुभयो । यसैगरि वडा अध्यक्ष प्रजाले पहिरोको कारण दुई गोठ पनि पुरिएको जानकारी दिनुभएको छ । उहाँले वडा नम्बर ७, गुवाङ् बस्ने बुद्दीलाल प्रजाको गोठ र गोठमा रहेको ३ वटा गोरु पहिरोले बगाएको बताउनुभयो । वडा अध्यक्ष प्रजाले राक्सिराङ –७ कै ४ घर पहिरोको जोखिममा रहेको दिनुभयो ।
प्राकृतिक विपद् उद्धार व्यवस्थापन गर्न रेस्पोन्स टिम तयार
मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जिल्लामा प्राकृतिक विपद् उद्धार व्यवस्थापन गर्न रेस्पोन्स टिम तयार रहेको बताउनुभएको छ । दुईदिन देखि वर्षा भइरहेको र विपद्को जोखिम रहेको भन्दै उद्धार सामग्री सहित रेस्पोन्स टिम तयारी अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो । बढी जोखिम हुनेस्थानको पहिचान गरी प्रहरी र स्थानीय जनप्रतिनिधिहरुबाट जानकारी संकलनको काम भइरहेको समेत उहाँले बताउनुभयो । जिल्लाका १० वटै स्थानीय तहलाई प्राकृतिक विपद् व्यवस्थापनको तयारी अवस्थामा रहन आग्रह गरिएको बताउँदै प्रजिअ पाण्डेले विपद् व्यवस्थापनको लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहितको टोलि तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।