१९ औँ एसियाली खेलकुद प्रतियोगिताको अहिले उद्घाटन समारोह चलिरहेको छ । चीनका राष्ट्रपति सी जीनपिङले हान्झाउमा प्रतियोगिताको उद्घाटन गर्नुभएको छ । उद्घाटन समारोहमा चीनले विश्वलाई नै चकित पार्नेगरी विभिन्न प्रविधि र गतिविधि तथा कला संस्कृति देखाएको छ ।
समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुनुहुन्छ । केही खेलहरु यस अघि नै शुरु भइसकेका भए पनि औपचारिक उद्घाटन आज भइरहेको हो । प्रतियोगितामा ४० खेलका ६१ वटा विधामा चार सय ८१ प्रतिस्पर्धा हुनेछन् ।
प्रतियोगिताको मूल नारा ‘हर्ट टु हर्ट एट फ्युचर’ अर्थात भविष्यमा हृदयदेखि हृदयसम्म रहेको छ । विश्वका ४५ देशको सहभागिता रहने ४० खेलमध्ये नेपालको तर्फबाट २९ खेलमा एक सय २७ महिला र एक सय २६ जना पुरुष गरी दुई सय ५३ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । उद्घाटन समारोमा हुने मार्चपासमा नेपालको झण्डा उसु खेलाडी निमा घर्ती मगर र तेक्वान्दोका वीरबहादुर महराले बोक्ने भएका छन् ।