हेटौंडा–२ स्थित साइराम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएकाे छ । संस्थाका अध्यक्ष राजेन्द्र प्रसाद पौडेलको अध्यक्षता एवम् बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे ।
साधारण सभाकाे उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि देवकाेटाले सहकारीमा सुशासन आवश्यक रहेको बताउनुभयाे । शेयर सदस्यले संस्थाबाट ऋण लिएर आर्थिक उपार्जनको लागि लगानी गरिरहेकाे भन्दै उहाँले शेयर सदस्यलाई आयआर्जनतर्फ आकर्षित गर्नुपर्ने बताउनुभयाे । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख हिमप्रसाद पौडेलले सहकारीले शेयर सदस्यलाई आय आर्जनतर्फ अग्रसर हुने खालको कार्य गर्नुपर्ने बताउनुभयाे ।
संस्थाको वार्षिक साधारण सभामा प्रस्तुत प्रतिवेदन अनुसार संस्थामा कुल २०७२ शेयर सदस्य आवद्ध रहेको सहकारीको शेयर पूँजी २ करोड ६६ लाख ७९ हजार ४ सय रुपैयाँ, बचत निक्षेप २३ करोड ८९ लाख १६ हजार ७ सय ९७ रुपैयाँ रहेको जनाइएकाे छ । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका उपाध्यक्ष मिना चौरेल, दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष डा.गणेश लामालगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा सहकारीको बचत तथा कर्जामा उत्कृष्ट कारोबार गर्ने, उत्कृष्ट बचत र ज्येष्ठ सदस्यलाई पुरस्कृत गरिएकाे थियाे ।