मकवानपुर – बागमती प्रदेश सरकारले प्रदेशसभा वैठकमा विनियोजन विधेयक–२०७९ को सिद्धान्त र प्राथमिकता पेश गरेकाे छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको सिद्धान्त र प्राथमिकता सभामा पेश गर्नु भएको हो ।
बागमती प्रदेश सरकारले आगामी जेष्ठ १६ गते नीति तथा कार्यक्रम र असार १ गते आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट ल्याउने कार्यक्रम रहेको छ । प्रदेश सरकारले कोरोना महामारीका कारण आर्थिक क्षेत्रमा परेको असरलाई न्यूनीकरण गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन लागेको बताईएको छ । ‘करको दायरा बढाउने र खर्च घटाउने नीति प्रदेश सरकारले लिने मन्त्री जम्मकट्टेलले बताउनुभयो । प्रदेशको आर्थिक अवस्थालाई गतिशिल बनाउने साथै संघीयताको मर्म र भावना अनुसार यस पटकको बजेट ल्याउने उहाँले बताउनुभयो ।
मन्त्री जम्मकट्टेलले कृषि, साना उद्योग र रोजगारी सिर्जना गर्ने गरी बजेट विनियोजन गर्ने दावी गर्नुभयो । उहाँले पुँजीगत खर्च असाध्यै कमजोर रहेका कारण त्यसलाई बढाउने गरी बजेट विनियोजन गर्न जरुरी रहेको समेत औंल्याउनुभयो । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको हालसम्म ३५ प्रतिशतमात्र पँुजीगत खर्च गरेको छ ।
विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि शनिबारबाट छलफलसुरु हुने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशसभाको शुक्रबारबाट सुरु भएको वर्षे अधिवेशनमा सरकारको तर्फबाट पाँचवटा अध्यादेश पेश भएको छ । अधिवेशनको सुरुवातमा आज प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुले शुभकामना व्यक्त गर्नुभएको थियो ।

हेर्नुहोस विनियोजन-विधेयक-२०७९-का सिद्धान्त र प्राथमिकता