मकवानपुर – नेपाली कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा चयन हुनुभएको छ । पहिलो चरणको प्रतिष्पर्धामा प्रथम स्थान हाँसिल गरेका लामालाई दोश्रो चरणको निर्वाचनअघि दोश्रो स्थान हाँसिल गरेका आनन्दराम पराजुलीले समर्थन गरेपछि लामा १४ औँ जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित हुनु भएको हो ।
पार्टीको १४औँ महाधिवेशन अन्तर्गत मकवानपुर जिल्ला अधिवेशनबाट निर्वाचित हुनुभएका उहाँलाई निर्वाचन अधिकृत गोपीशर्मा सुवेदीले आज प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । सोमबार सम्पन्न अधिवेशनमा लामासँग आनन्दराम पराजुली र जयराम लामिछाने चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । तीनै जनाले ५१ प्रतिशत मत प्राप्त गर्न सफल नभएपछि सबैभन्दा बढी मत ल्याउने उम्मेदवार र निकटतम प्रतिस्पर्धीबीच चुनावी प्रतिस्पर्धा गर्ने काँग्रेसको प्रावधान रहेको छ, तर निकटतम प्रतिस्पर्धी पराजुलीले लामाकै बढी मत आएको भन्दै हार्दिकता देखाएपछि लामा दोस्रो चरणमा निर्विरोध हुनुभएको हो ।
नवनिर्वाचित सभापति लामाले कांग्रेस लोकतान्त्रिक विधि पद्धतिमाथि आधारित पार्टी भएकोले नेतृत्वले सबैलाई समेटेर अघि बढ्ने प्रष्ट पार्नुभयो । पार्टीका सह महामन्त्री महालक्ष्मी उपाध्याय डीना र बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले नवनिर्वाचित सभापति लामालाई बधाई ज्ञापन गर्दै आसन्न स्थानीय तह निर्वाचन लक्षित गतिविधि गर्न निर्देशन दिनुभयो । कांग्रेस मकवमानपुरको अन्य पदाधिकारीकाे मतगणना जारी छ ।