काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा स्थानीय तहहरूमा देखिने आवश्यकता र औचित्यका आधारमा गठबन्धन गर्नुपर्नेमा नेताहरूले जोड दिनुभएको छ । कार्यसम्पादन समितिको आज नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा स्थानीय तहहरूको अवस्था विशेष गरी स्थानीय तह र जिल्ला स्तरमा नै बढी थाहा हुने भएकाले बैठकमा त्यसलाई प्राथमिकता दिएर छलफल भएको नेताहरूले बताउनुभएको छ ।
नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले सञ्चारकर्मीसँग प्रतिक्रिया दिनुहुँदै नेपाली काँग्रेसले महानगर र उपमहानगर पालिकाका बारेमा केन्द्रले निर्णय गर्ने र त्यस बाहेकका स्थानीय तह स्थानीय वस्तुस्थितिका आधारमा तालमेल गर्न सकिने बताउनुभयो । प्रवक्ता डा.महतले तालमेल सम्भव नभएको ठाउँमा गठबन्धन दलहरूबीच पनि मित्रवत् प्रतिस्पर्धा हुने तर प्रतिपक्षी दल नेकपा एमालेसँग भने गठबन्धन नहुने बताउनुभयो ।