मकवानपुर – नेकपा एमाले निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति मकवानपुरको अध्यक्षमा यादविन्द्र पौडेल चयन हुनु भएको छ । मंगलबार हेटौंडामा सम्पन्न ११ औं अधिवेशनबाट डिभिजन वन कार्यालय हेटौंडामा कार्यरत पौडेलको सर्वसम्मत अध्यक्षमा चयन हुनु भएको हो ।

जिल्ला अधिवेशनबाट पौडेलको नेत्तृत्वमा उपाध्यक्षमा हेमकुमार पाठक (खुला) उपाध्यक्ष मानकुमारी भट्टराई (महिला), सचिव प्रकाश पौडेल, सह–सचिव संझना शाही अर्याल, र कोषाध्यक्षमा पदम ओझालगायत २१ सदस्यीय कार्यसमिति चयन भएको संगठनले जनाएको छ । यस्तै अधिवेशनले ५०५ जना सदस्य भएको जिल्ला संगठनबाट ६/६ जना केन्द्रिय र प्रदेश प्रतिनिधी छनोट गरेको जनाईएको छ ।

नेपाल निजामती कर्मचारी संगठन मकवानपुरका अध्यक्ष पौडेलकै अध्यक्षता एवम् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता कार्यक्रम भएको हो । कार्यक्रममा प्रथम मुख्यमन्त्री पौडेलले पौडेलले कर्मचारीले गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कर्मचारीहरूलाई कर्तव्यनिष्ट र जिम्मेवार भएर जनताको सेवा गर्न आग्रह गर्दै आफ्नो क्षमता र दक्षता अभिवृद्धिमा समेत लाग्न सुझाब समेत दिनुभयो । कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष केदार प्रसाद देवकोटा, नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सदस्य एवम् मकवानपुर ईन्चार्ज विष्णुप्रसाद अर्याललगायतको आतिथ्यता थियो ।