मकवानपुर । बागमती प्रदेश सरकारले आज आर्थिक वर्ष २०८०÷८१ को बजेट सार्वजनिक गर्दै छ । प्रदेश सरकारले आज दिउसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्न लागेको हो ।
अन्तर सरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार प्रदेश सरकारले असार १ मा प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान अनुसार आज दिउसो बस्ने बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले बजेट प्रस्तुत गर्ने गरी कार्यसूची तय गरिएको छ । मन्त्री लामाले आर्थिक वर्ष २०८०–०८१ को राजस्व तथा व्ययको अनुमान (बजेट) प्रस्तुत गर्ने र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकलाई पेस गर्ने सम्भावित कार्यसूची तय भएको छ ।
बजेटको सम्पूर्ण तयारी पुरा भईसकेको र दिउसो मन्त्रिपरिषद् बैठकले निर्णय गरेलगतै बजेट प्रस्तुत हुने जनाईएको छ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा कृषि, पर्यटन र रोजगारी सिर्जनामा जोड दिने गरि बजेट ल्याउने जनाएको छ । यसअघि बागमती प्रदेश सभाको हिजोको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री लामाले बागमती प्रदेशको आर्थिक सर्वेक्षण २०७९÷८० पेश गर्नुभएको थियो ।
प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपियाँ विनियोजन गरेको थियो । तर आगामी आवको बजेटको आकार चालु आवको भन्दा करीब १० प्रतिशत घट्ने जनाईएको छ । प्रदेश सरकारले मन्त्रालयहरुलाई सिलिङ उपलब्ध गराउँदै १० प्रतिशत घटाएर उपलब्धघ गराएको थियो । संघीय सरकारले दिने वित्तीय हस्तान्तरणको आकारसमेत घटेको अवस्थामा प्रदेश सरकार बजेटको आकार केही घटाएको बुझिएको छ । प्रदेशको राजस्व संकलनमा कमीसँगै संघबाट प्राप्त हुने अनुदान समेत घटेकाले आगामी आवको बजेटको आकारसमेत घटेको हो । प्रदेश सरकारको आफ्नै राजस्वको स्रोतमध्ये मुख्य गरी राजस्व संकलन हुने मालपोत र सवारी कर र दहत्तर बहत्तरमा ह्रास आएकाले पनि प्रदेशको बजेटको आकार घटेको हो ।