मकवानपुर, पुस २१ । महिलाको लगानी, घर–घरमा उद्यमी भन्ने नाराका साथ हेटौंडामा बागमती प्रदेश स्तरिय महिला उद्यमी सम्मेलन सुरु भएको छ । बागमती प्रदेशको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको आयोजना एवम् नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश महिला उद्यमी विकास समितिको संयोजनमा दुईदिने सम्मेलन सोमबारदेखि सुरु भएको हो ।

आज मंगलबारसम्म संचालन हुने सम्मेलनमा प्रदेशका १३ वटै जिल्लाका उत्कृष्ट र सफल ५० जना महिला उद्यमीहरुको सहभागिता रहेको छ । सम्मेलनमा सामाजिक सुरक्षाकोष सम्बन्धी अभिमुखिकरण, उद्यम व्यवसाय सञ्चालन गरेर सफल भएका महिला उद्यमीहरुको अनुभव आदान प्रदान, महिला उद्यमीहरुले भोग्नु परेको प्रमुख समस्या उपर छलफल तथा अन्तरकृया, प्रदेश सरकारको आगामी नीतिमा महिला उद्यमीहरुको समस्या समाधानको लागी चाल्नुपर्ने कदमलगायत विषयमा छलफल हुने बताईएको छ ।
बागमती प्रदेशको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक पुष्कर चन्द्र घिमिरेको सभाध्यक्षता भएको कार्यक्रममा बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले महिला उद्यमलाई आयसँग र गाउँका उद्यमलाई शहरसँग जोड्नुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले लिएको “सुशासन अभिवृद्धि गर्दै समृद्ध तथा समतामूलक प्रदेश निर्माण गर्ने“ लक्ष्य प्राप्तीका लागि महिला उद्यमशीलता प्रवद्र्धन गर्दै महिला उद्यमीहरुलाई सफल बनाउनुपर्ने बताउनुभयो । निर्देशक घिमिरेले उद्यम गरिरहेका महिला उद्यमीलाई प्रोत्साहन गर्न र उत्पादनलाई बजारीकरण तथा प्रवर्धनमा सघाउन सम्मेलन आयोजना गरिएको बताउनुभयो ।
सम्मेलनमा सहभागिहरुले उद्यम व्यवसाय सञ्चालनका लागि आवश्यक नीतिगत व्यवस्थासँगै प्रक्रियागत सहजता, तालिम, पुँजी, प्रविधि, दक्ष जनशक्ति र बजारीकरणसम्मका विद्यमान चुनौतीबारे ध्यानाकर्षण गराएका छन् । उनिहरुले थोरै पुँजी लगानीबाटै स्थानीय स्रोत साधन परिचालन गरी व्यवसायसञ्चालन गर्न सकिने भएकाले महिला उद्यमी एवं लघु, घरेलु तथा साना उद्योगबाट ठूलो आर्थिक उन्नतिको सम्भावना रहेको बताएका छन् । दुई दिने सम्मेलन आज (मंगलबार) सम्म संचालन हुने छ ।