मकवानपुर । बागमती प्रदेश सरकारले पहिलो पटक कर्मचारीको सङ्केत नम्बर कायम गरि वितरण गरेको छ । बागमती प्रदेश लोक सेवा आयोगबाट नियुक्त भएका कर्मचारीहरूको वैयक्तिक विवरण (पीआइएस) र अभिलेख व्यवस्थापन गरि कर्मचारी संकेत नम्बर वितरण गरिएको हो ।
बिहीबार एक कार्यक्रमकाबीच मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पहिलो पटक प्रदेशमा नियुक्त ९ जना कर्मचारीको अभिलेख व्यवस्थापन गरि कायम गरिएको वैयक्तिक विवरणसहितको संकेत नम्बर वितरण गर्नु भएको हो । प्रदेश स्थापना भए पश्चात् नियुक्त कर्मचारीको (पीआइएस) विवरण र अभिलेख व्यवस्थापन गर्न प्रयास गरिएको परिणाम स्वरूप राष्ट्रिय किताबखानाबाट हस्तान्तरण भएको (पीआइएस पोर्टल) बाट ९ जना कर्मचारीको संकेत नम्बर कायम वितरण गरिएको मुख्यमन्त्री कार्यालयका उपसचिव बद्रीबहादुर पाठले जानकारी दिनुभयो । संघीयता शुरू भए पश्चात सबैभन्दा पहिला बागमती प्रदेशबाट यो कार्यक्रम सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।
कार्र्यक्रममा मुख्यमन्त्री जम्मकट्टेलले कर्मचारीका लागि यो अति नै महत्वपूर्ण कार्य भएको बताउनुभयो । उहाँले प्रदेश सरकारले कर्मचारीहरुको सरुवा, बढुवा तथा वृति विकासलगायत कर्मचारी व्यावस्थापनको पाटोमा यसले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । कार्यक्रममा बागमती प्रदेशका प्रमुख सचिब मुकुन्द प्रसाद निरौलाले राष्ट्रिय किताबखानाबाट लामो प्रयास पछि प्राप्त पार्टलबाट अब भने काम गर्न सहज हुने बताउनुभयो । कार्यक्रममा प्रदेशका सचिबहरु, उपसचिबहरु, महासखाका प्रमुखहरु लगायतकाको सहभागिता रहेको थियो ।