उन्नाइसौँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड, २०७८ अन्तर्गत पिपल्स च्वाइस अवार्ड नेपाली महिला राष्ट्रिय भलिबल टाेलीकी सदस्य उषा भण्डारीले जितेकी छिन् । मङ्गलवार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले काठमाण्डाैकाे प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमकाे आयाेजना गरेर भण्डारीलाई पिपल्स च्वाइस अवार्ड दिएकाे हाे ।
उषाले अवार्ड जित्ने क्रममा मनोनयनमा परेका फुटबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ शेख, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवाना लामालाई पछि पारिन् । पिपल्स च्वाइस विधाका लागि ई–सेवाको मतभार ५० प्रतिशत रहेको थियो । त्यसैगरी सामाजिक सञ्जाल (फेसबुक लाइक) को मतभार २५ प्रतिशत, राष्ट्रिय प्रशिक्षकको मतभार १२ दशमलव ५ प्रतिशत र खेल पत्रकारको मतभार १२ दशमलव ५ प्रतिशत रहेको थियो । उषाले नेपालमा आयोजना भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा टोलीले रजत जित्दा सदस्य थिइन् । उनले यसै प्रतियोगिताबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन् ।