हेटौंडा– १७ औं रुद्र पाख्रिन स्मृति कप फुटसल प्रतियोगिताको उपाधि कैलाश गाउँपालिकाले जितेको छ । मकवानपुरमा पहिलो पटक शहिद रुद्र पाख्रिन स्मृति पार्कको आयोजनामा मकवानपुरगढी गाउँपालिकास्थित फुटसल मैदानमा आइतबार भएको अन्तिम प्रतिस्पर्धामा आयोजक टिमलाई ट्राइब्रेकरमा १–० गोल अन्तरले हराउँदै कैलाशले उपाधि जितेको हो । कैलाशको लागि उमेश थिङले निर्णाय गोल गरेका थिए । उपाधि चुमेसँगै कैलाशले १ लाख रुपैयाँ र शिल्ड, मेडल प्राप्त गरेको छ ।
आयोजक टिमले दोस्रो स्थानमा चित्त बुझाउदै ५० हजार रुपैयाँ र मेडल प्राप्त गरेको छ । विजेता र उपविजेता खेलाडीहरुलाई बागमती प्रदेशका प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी, मकवानपुरगढी गाउँपालिकाकी कार्यपालिका सदस्य मानकुमारीक नेपाली, ३ नम्बर वडा अध्यक्ष भागवत घिमिरे,प्रतियोगिता संयोजक भीम पाख्रिनले पुरस्कार बितरण गरे ।
गत पुस २८ गते सुरु प्रतियोगितामा मकवानपुरका सबै १० वटै स्थानीय तहको फुटसल टिमको सहभागिता रहेको थियो । प्रतियोगिता सम्पन्न गर्न करिब १५ लाख रुपैयाँ खर्च भएको प्रतियोगिता संयोजक पाख्रिनले बताए । साथै प्रतियोगिता भ्रमण वर्ष २०२० को अवसरमा मकवानपुर गढीका पर्यटकीय क्षेत्रहरुको प्रचार गर्ने समेत उदेश्यले आयोजना गरिएको उनले जानकारी दिए ।